३ आश्विन २०८१, बिहीबार

७ करोड ५७ लाखको लागतमा हाँडिखोलामा कोल्ड स्टोर निर्माणको सम्झौता

कोलोराडोखबर संवाददाता , January 26th, 2024

नेपाल (हेटौंडा) । मनहरी गाउँपालिका वडा नं ३ हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता भएको छ । बुधबार गाउँपालिका र कोल्ड स्टोर निर्माणको ठेक्का पाएको हिमालयन नमोवुद्ध जेवि बीच सम्झौता भएको हो ।

गत जेठ २ गते गाउँपालिकाले कोल्ड स्टोर निर्माणका लागि वोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाको प्राविधिक मुल्याङ्कन अनुरुप कुल ७ करोँड ५७ लाख ९६ हजार लागत अनुमान गरीएको बताइएको छ । उक्त ठेक्का प्रकृयामा सबैभन्दा कम ६ करोँड २८ लाख ४५ हजारमा ठेक्का साकार गरेको हिमालयन नमोवुद्धसँग कानुनी अड्चनका कारण गाउँपालिकाले सम्झौता गर्न सकेको थिएन । वोलपत्रमा दोस्रो नम्बरमा परेको कम्पनी हिमाल एमएम जेविले ठेक्का साकार गर्ने कम्पनीलाई मुद्धा दायर गरेपछि उच्च अदालत पाटन इजलासले गाउँपालिकालाई प्रकृया अघि नबढाउन पत्र पठाएको थियो ।

त्यसयता कुनै पनि काम गर्न असमर्थ भएको गाउँपालिकालाई गत माघ ५ गते अदालतले कार्य अघि बढाउन पत्र दियो । हिमाल एम।एम जे।वि ले दायर गरेको रिट निवेदन खारेज गर्दै प्रकृया अघि बढाउन आदेश दिएपछि गाउँपालिकाले बुधबार कम्पनीसँग सम्झौता गरेको हो ।

यता वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले काम द्रुत गतिमा अघि बढाउन ठेकदार कम्पनीलाई निर्देशन दिनुभएको छ । ‘मुद्दा मामिलाका कारण लामो समय हामीले कुर्नु पर्यो’, उहाँले भन्नुभयो , ‘आगामी दिनमा समय अगावै काम सम्पन्न गरी उत्कृष्ट कार्य गर्न कम्पनीलाई निर्देशन दिएको छु ।’

यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले हाँडिखोलामा कोल्ड स्टोर निर्माण गर्ने निर्वाचन अघि देखिकै आफ्नो सपना रहेको बताउनुभयो । ‘हाँडिखोला भेगमा उत्पादन हुने तरकारी तथा बालीले उचीत मुल्य नपाउँदा किसानहरु मर्कामा पर्ने गरेका छन’्, उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्थामा कोल्ड स्टोरमा भण्डारण गरी राख्ने र उचीत समयमा विक्री वितरण गर्न सके किसानले राम्रो मुल्य पाउन सक्नेछन् ।’

प्रतिक्रिया दिनुहोस्