२८ बैशाख २०८१, शुक्रबार

बीडीए मासाच्युसेट्स च्याप्टरद्वाराआयोजित कार्यक्रममा ४४ जनाले गरे रक्तदान

कोलोराडोखबर संवाददाता , January 22nd, 2024

सुपेन्द्र बस्नेत (बोस्टन, अमेरिका) । अमेरिकाको बोस्टन सहरमा ब्लड डोनर्स अफ अमेरिका (बीडीए), मासाच्युसेट्स च्याप्टरद्वारा आयोजित रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्।

कार्यक्रम गत जनवरी २० तारिख शनिवारका दिन 594 Washington Street, Braintree, MA-02184 स्थित पशुपतिनाथ बुद्ध मन्दिर रहेको सामुदायिक भवनमा आयोजना गरिएको थियो । रक्तदान, जीवन दान’ भन्ने कथनलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा, मासाच्युसेट्स जनरल हस्पिटलको ‘रक्तदान, जीवन दान’ भन्ने भनाइलाई चरितार्थ पार्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई मासाच्युसेट्स जनरल हस्पिटलले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिकूल मौसमका बावजूद पनि बिहान ९ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक उपस्थिति रहेको आयोजकले जनाएको छ ।

बीडीए मासाच्युसेट्स च्याप्टरका अध्यक्ष राम थापाले मौसम प्रतिकूल हुँदा हुदै पनि उत्साहित रक्तदाताहरुको संख्या उल्लेखनीय रहेकोमा खुशी व्यक्त गरे । उनले भने, ‘मौसम प्रतिकूल भयो । तर, रक्तदाताहरुको संख्या उल्लेखनीय र सहभागिता उत्साहजनक रह्यो । हामी धेरै खुशी छौं ।’ अध्यक्ष थापाले सहयोगी संघ संस्था, प्राविधिक सहयोगी मासाच्युसेट्स जनरल हस्पिटल, रक्तदाताहरु तथा अन्य सहयोगीहरुलाई धन्यवाद दिदै भने, ‘कार्यक्रम सम्पन्न गर्न अमूल्य सहयोग गर्ने संघ संस्था, मास जनरल हस्पिटल, रक्तदाताहरु तथा अन्य सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दछु।’

अध्यक्ष थापाले कार्यक्रमबाट आयोजकलाई थप उर्जा र उत्साह मिलेको भन्दै आगामी दिनहरुमा पनि रक्तदानसंग सम्बन्धित विविध कार्यक्रमहरु गर्दै जाने बताए ।

रक्तदान बारे जनचेतना जगाउने, रगत संकलन गर्ने तथा रक्तदानसंग सम्बन्धित अन्य क्रियाकलापहरु गर्ने उद्देश्यका साथ सन् २००९ मा स्थापना भएको संस्था बिडिएको शाखाको रुपमा गत अक्टोबर ११, २०२३ मा थापाको नेतृत्वमा मासाच्युसेट्स च्याप्टर गठन गरिएको थियो । संस्थाले आफ्नो शाखा अमेरिका भरी बिस्तार गरेर सक्दो सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्