नेपाल । लागु औषध नियन्त्रण ब्यूरोले ५.५ किलोग्राम सेतो हेरोइनसहित लागु औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतको महाराष्ट्र राज्यअन्तर्गत पुणे ठेगाना भएका ५२ वर्षीय रेवाराज टिघारे शनिबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्। थाइल्याण्डबाट हवाई मार्ग हुँदै नेपाल आएका उनलाई शंकास्पद यात्रीहरूको पहिचान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनको साथमा रहेको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागु औषध बरामद भएको हो। प्रहरीले निजको साथबाट ५।५ किलो सेतो हेरोइनका साथै एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ।
बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुने र सो हेरोइन भारत पुगेपछि भारतीय बजारमा अझै महँगो पर्ने बताइएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्