१८ कार्तिक २०८३, बुधबार

कोलोराडोमा दशैं-तिहार शुभकामना साँझ, कुलेन्द्र विश्वकर्माको दमदार प्रस्तुति

कोलोराडोखबर संवाददाता , November 4th, 2026

-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । हिन्दू धर्मावलम्बीहरूको महान पर्व बडादशैं तथा तिहारको अवसरमा कोलोराडो स्थित रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) ले आयोजना गरेको दशैं–तिहार विशेष शुभकामना साँझ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

नेपाली संस्कृति, परम्परा र आपसी एकतालाई निरन्तरता दिने उद्देश्यले RMFN ले आयोजना गरेको दशैं–तिहार विशेष कार्यक्रम आइतबार साँझ भव्य रूपमा सम्पन्न भएको हो।

कोलोराडो स्थित सबै संघ संस्थाको सहभागीतामा वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा आयोजित दशैं–तिहार विशेष शुभकामना साँझमा साँगीतीक, साँस्कृतिक, सम्मान, शुभकामना आदान प्रदान संगै चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष प्रश्तुती जस्ता कार्यक्रमहरू रहेका थिए ।

RMFN का सल्लाहकार, INLS का BOT अध्यक्ष पदम विश्वकर्माको प्रमुख आतिथ्य तथा हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, वेस्टमिनिष्टरका मेयर Claire Carmella, समाजसेवी डा. विजयराज शर्मा, RMFN का पूर्व अध्यक्ष बिनोद त्रीपाठीको बिशेष उपस्थितीमा सम्पन्न कार्यक्रम प्रमुख अतिथी, अतिथी र कार्यक्रमका सभापतीले संयूक्त रूपमा पानसमा बत्ति बालेर उद्धाटन गरेका थिए । रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष हरी गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल र अमेरीकाको राष्टियगान संगै अगाडी बढेको थियो ।

कार्यक्रममा विश्वका ८० भन्दा बढी देशमा साइकलबाट यात्रा गरि नेपालको नाम बिश्वमा फैलाउने साइकल यात्री अजित बराल, चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, संस्था पुर्व अध्यक्ष अर्जुन बगाले, पत्रकार नातिबाबु भट्ट, चन्दादाता, तथा स्थानिय कलाकारहरूलाइ खादा लगाइदिइ सम्मान पत्र प्रदानगरी सम्मान गरिएको थियो ।

संस्थाका महासचिव तेजप्रसाद ढकालबाट संचालित कार्यक्रमको पहिलो चरणमा संस्थाका अध्यक्ष हरी गुरूङले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रमको महत्वबारे प्रकाश पारेका थिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी पदम विश्वकर्मा र विशेष अतिथी वेस्टमिनिष्टरका मेयर Claire Carmella ले शुभकामना मन्तब्य दिएका थिए ।

संस्थाका पदाधिकारीहरूले दर्शकमाझ परंपरागत लोक संस्कृती देउसी प्रश्तुत गरेका थिए । त्यसैगरी ग्लोवल भुटनिज कम्यूनिटी अफ कोलोराडोका कलाकार नानूहरूले दशैं गीतमा शुन्दरनृत्य प्रश्तुत गरेका थिए । त्यस्तैगरी सोही कार्यक्रममा साना कलाकार नानुहरूले परंपरागत पहिरनमा सजिएर सुन्दरनृत्य प्रश्तुत गरेका थिए । यसैगरी गायिका संझना पाण्डेको प्रश्तुती पनी शुन्दर रहेको थियो । कार्यक्रममा नेपालको पश्चिमी कला संस्कृती रूकुमको सिंगारू ( टप्पा ) नृत्य प्रश्तुत गरिएको थियो । कार्यक्रमको दोश्रो सत्र संस्थाको कल्चर सेक्रेटरी रेखा धौरालीले संचालन गरेकी थिइन ।

कार्यक्रमको अन्त्यमा मातृभुमी नेपालको पर्वतमा जन्मिएका लोकप्रिय लोक तथा लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्माको प्रश्तुती रहेको थियो । ‘सालको पातको टपरी हुनी’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाऊ है सानु पँधेरीमा’ जोगीको भेषैमा’, ‘रुमाल हल्लाई हल्लाई’, ‘डाँडै फुर्के सल्लो’ जस्ता लोकप्रिय गीतमार्फत दर्शक–श्रोतामाझ परिचित विश्वकर्माले २,५०० भन्दा बढी गीतमा स्वर दिइ सकेका छन् । कार्यक्रममा उनका जोडदार प्रश्तुतीले सहभागी सबैलाइ नचाएको थियो । उनले सालको पातको टपरीहुने लगायतका झण्डै एकदर्जन भन्दा बढी आफ्ना चर्चित गीत गाइ श्रोता दर्शकलाइ भरपुर मनोरञ्जन प्रदान गर्दै नचाएका हुन् ।

नेपालीभाषीहरू दशैं–तिहारलाई नेपाली समुदायबीच भेटघाट, शुभकामना आदानप्रदान, आपसी सद्भाव र एकता सुदृढ गर्ने अवसरका रूपमा लिइ कार्यक्रममा सहभागी भएका थिए । कोलोराडोमा रहेका संघ संस्थाका पदाधिकारी, गन्यमान्य, तथा नेपाली भाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू परिवारसहित कार्यक्रममा सहभागी भएर पर्वको खुसी साटेका थिए ।

रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल (RMFN) कोलोराडोमा रहेका नेपाली भाषी समुदायको पुरानो तथा अग्रणी सामाजिक संस्था हो। संस्थाले स्थापना कालदेखि नै नेपाली संस्कृति, भाषा, परम्परा तथा सामाजिक सम्बन्धलाई प्रवर्द्धन गर्ने विभिन्न गतिविधि गर्दै आएको छ। यस्ता कार्यक्रमले कोलोराडोमा रहेका नेपालीहरूलाई एउटै थलोमा भेला भएर आफ्नो संस्कृति र परम्परासँग जोडिन तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउन सहयोग पुर्‍याउँदै आएको आयोजकको दावी छ।

प्रतिक्रिया दिनुहोस्