नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारको मूल्यमा सुशासन कायम हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसको ‘प्रतिपक्षको निगरानी कार्यक्रम’लाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय सरकारले गरेका केही निर्णय र देशमा भएका घटनाले गम्भीर प्रश्न जन्माएको बताए ।
उनले सरकारलाई जवाफदेही बनाउन र लोकतान्त्रिक मूल्य तथा मान्यताको संरक्षण गर्न कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
थापाले सरकारले सञ्चारमाध्यममा प्रहरी परिचालन गरी पत्रकार पक्राउ गरेको घटनालाई गम्भीर रूपमा लिएको बताए । उक्त घटनाले शाही शासनकालमा सञ्चारगृहमा सुरक्षाकर्मी प्रवेश गराइएको घटनाको स्मरण गराएको उनको भनाइ थियो ।
पत्रकार पक्राउ प्रकरणमा प्रहरीको फरक–फरक वक्तव्य र प्रधानमन्त्रीको सचिवालयबाट आएका धारणाले थप प्रश्न जन्माएको उल्लेख गर्दै उनले घटनालाई सामान्य रूपमा लिएर टुंग्याउन नहुने बताए । यस प्रकरणमा कसको आदेशमा पक्राउ गरिएको हो, कानुनको प्रयोग कसरी भयो र त्यसका लागि जिम्मेवार को हो भन्ने विषयमा निष्पक्ष छानबिन गरी परिणाम देखाउनुपर्ने उनको माग छ ।
उनले सरकारको अधिकार कानुनबाट निर्देशित हुनुपर्ने भन्दै सरकारमा रहेका व्यक्तिको इच्छालाई नै कानुन ठान्ने प्रवृत्ति लोकतन्त्रका लागि खतरनाक हुने बताए । राज्यका निकायलाई निजी आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्ने प्रवृत्तिले शक्तिको स्वेच्छाचारी प्रयोगलाई प्रश्रय दिने उनको टिप्पणी थियो ।
थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारका गलत कामप्रति असहमति जनाउनु सकारात्मक भए पनि सरकारका राम्रा कामको जस लिने र गलत कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए । सरकारको नेतृत्व गर्ने दलले आफ्ना सरकारका कामको राजनीतिक जिम्मेवारी पनि लिनुपर्ने उनको भनाइ थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्