११ कार्तिक २०८३, बुधबार

उपराष्ट्रपति यादव र जर्मनीका राजदूतबीच शिष्टाचार भेटवार्ता

कोलोराडोखबर संवाददाता , October 28th, 2026

नेपाल । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो युजेन भोल्जले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल–जर्मनी सम्बन्धका विविध आयाम, विकास सहकार्य, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारलगायतका विषयमा सौहार्दपूर्ण छलफल भएको थियो ।

उपराष्ट्रपति यादवले सन् १९५८ मा नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध आपसी विश्वास, मित्रता तथा सहयोगका आधारमा निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो । उहाँले नेपालको सामाजिक–आर्थिक विकास, स्वास्थ्य, शिक्षा, ऊर्जा तथा संस्थागत सुदृढीकरणका क्षेत्रमा जर्मनीले दिएको महत्वपूर्ण योगदानको उच्च प्रशंसा गर्नुभयो ।

उपराष्ट्रपति यादवले गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जर्मन सरकारबाट प्राप्त राहत तथा आर्थिक सहयोगका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । साथै, आगामी पुनर्निर्माण र पुनःस्थापनाका चरणहरूमा समेत जर्मनीको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले जर्मनी नेपालको एक महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै द्विपक्षीय सहकार्य आगामी दिनमा अझ व्यापक र प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । साथै, हरेक वर्ष हजारौं जर्मन पर्यटक नेपाल भ्रमण गर्ने तथा उच्च शिक्षा, अध्ययन र रोजगारीका लागि जर्मनी जाने नेपाली युवाको संख्या निरन्तर बढिरहेको सन्दर्भमा दुई देशबीचको जनस्तरको सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले जर्मन राष्ट्रिय दिवसका अवसरमा राजदूत भोल्जमार्फत जर्मन सरकार तथा जर्मनीका सम्पूर्ण जनताप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

राजदूत भोल्जले नेपाल र जर्मनीबीचको सम्बन्ध अत्यन्तै घनिष्ठ र विश्वासपूर्ण रहेको उल्लेख गर्दै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना प्रकट गर्दै नेपालले विपत्तिको प्रभावबाट शीघ्र पुनःउत्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्