नेपाल । अध्यागमन विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हुन सक्ने सम्भावित प्राकृतिक जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि पदयात्रासम्बन्धी कार्य रोक्न अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार आगामी कार्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको छ। सोही जोखिमलाई ध्यानमा राख्दै विभागले पर्यटकलाई उक्त क्षेत्रमा नजान र यदि गइसकेको भए सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईँद्वारा जारी सूचनामा भनिएको छ, ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिनुभएका पदयात्रीहरूले सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त अवधिभर पदयात्रा नगर्नुहुन तथा पदयात्रामा गइसकेको भए सुरक्षित ठाउँमा रहनुहुन अनुरोध छ।’
साथै, तोकिएको अवधिभरका लागि उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रतर्फ जाने पदयात्रा अनुमति (परमिट) आजैको मितिबाट जारी नहुने व्यहोरा समेत विभागले सम्बन्धित सबैलाई जानकारी गराएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्पूर्ण सरोकारवालालाई सो सूचना पालना गर्न र गराउन समेत आग्रह गरेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्