१ कार्तिक २०८३, आईतवार

कविता: गंगास्नान

कोलोराडोखबर संवाददाता , October 18th, 2026

-सुदीपभद्र खनाल-

बुझ्नेले नबुझे स्वआत्म सरिता संसार के बुझ्दछ
लेख्नेले नबुझे कथा समयका साहित्य के लेख्दछ
यो बह्माण्ड बुझोस् परन्तु नबुझे मान्छे उ के बुझ्दछ
आफैँभित्र बुझेर बाहिर बुझे यो सृष्टि सामान्य छ ।

आफ्नै रक्त र श्वेद मिशृत गरी माटो भिजा जा अब
आफ्नै पौरखको तँ खा फल स्वयं सत्कर्मको आसव
गर्दे कर्म बनेर साक्ष तँ जगत कल्याणका खातिर
माया मोह र मादमा नफसिदे मात्सर्य झन्झातिर ।

यो संसार विचार चार दिनको ऐश्वर्यको सानको
राखी चाह लिएर स्वार्थ तँ नबस् बाटो समा ज्ञानको
के हो उन्नत प्राप्ति त्यो समयले गर्दिन्छ निर्धारण
गर्छस् सत्य महान् बुझेर नबुझे-जस्तो तँ के कारण ।

धन्धन्धन् तँ नभन् उदार मन बन् वैराग्य आधार बन्
सच्चा ज्ञान दया विचारयुत बन् भन् न्याय सत्कर्म भन्
स्वार्थी लोभ र मोह युक्त तँ नबन् मुत्तात्म स्वाधीन बन्
छोडी काम र क्रोध मोह मसिहा संसार सत्धर्म भन् ।

लण्ठा छाड विराग जाग मनका कुण्ठा हटाई रव
पक्री शाश्वत सत्यको टिनिनिनी घण्टी बजा वास्तव
लोकाचार विवाद वाद नजगा ज्योत्स्ना जगा भित्रको
जानी सत्चित ज्ञान स्नान गरिदे गंगा तँ आनन्दको ।

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्