नेपाल । वासु शशी स्मृति परिषद्ले २०८३ सालको ‘वासु शशी साहित्य सम्मान’ नेपाली साहित्यमा समर्पित तीन सर्जकलाई प्रदान गरेको छ ।
परिषद्द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले कथाकार हिरण्यकुमारी पाठक, कथाकार मधुवन पौडेल र समालोचक डा. बद्री पोखरेललाई सम्मानित गरे । सम्मानकासाथ नगद राशि जनही १० हजार रुपैयाँ प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि खरेलले सम्बोधन गर्दै वासु शशीसँग आफ्नो नजिकको सम्बन्ध रहेको चर्चा गर्दै उनले नलेखेको कुनै विषय नै नरहेको बताए ।
परिषद्का सदस्य सचिव प्रद्युम्न जोशीले परिषद्ले ३४ वर्षको अवधिमा ८० भन्दा बढी सर्जकहरूलाई सम्मानित गरिसकेको बताए ।
सम्मानित स्रष्टाहरू पाठक, पौडेल र डा. पोखरेलले प्राप्त सम्मानले आफूहरूमा उर्जा थपेको बताए ।
अभिनेत्री मिथिला शर्माले वासु शशीले लेखेको ‘माया’ चलचित्रमा अभिनय गर्ने मौका पाएको स्मरण गरिन् । अर्का कलाकार मदनदास श्रेष्ठले साहित्यकार शशीको सिर्जना ‘बाँसुरीमा नअटाएका धुनहरू’ माथि चलचित्र निर्माण हुने कुरा चले पनि फिल्म बन्न नसकेको चर्चा गरे ।
परिषद्का कार्यवाहक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मान तथा पुरस्कारहरूको भीडमा यो सम्मानको आफ्नै ओज र महत्त्व रहेको बताउँदै वासु शशीले अनुज पुस्तालाई सदैव माया गर्दै आएको स्मरण गरे ।
कार्यक्रममा साहित्यकार राधेश्याम लेकालीले वासु शशीकाबारेमा आफ्ना धारणा राखे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्