नेपाल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध मोर्चाबन्दी हुन सक्ने भन्दै एकजुट भएर प्रतिवाद गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
पार्टी कार्यालय च्यासलमा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले २०७७ सालदेखि नै एमालेविरुद्ध घेराबन्दी सुरु भएको र त्यो अझै जारी रहेको दाबी गरे। पार्टीलाई कमजोर बनाउने प्रयासविरुद्ध एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
ओलीले २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास भएको र त्यसमा असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराइएको आरोप लगाए।
२०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उल्लेख गर्दै उनले त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको दाबी गरे।
उनले सामाजिक सञ्जालमार्फत एमाले र पार्टीका नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास भइरहेको आरोप लगाए।
पार्टीभित्रैका केही नेताका गतिविधिले पनि चुनौती थपिएको उनको भनाइ थियो। विगतका मतभेदमा अल्झिनुभन्दा पार्टीको उद्देश्य र नीतिप्रति प्रतिबद्ध भएर अघि बढ्न उनले आग्रह गरे।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्