२६ आश्विन २०८३, सोमबार

नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा दुई स्थानमा देउसी-भैलो कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , October 12th, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । नेपाली संस्कृति, परम्परा र सामुदायिक एकतालाई प्रवासमा जीवन्त राख्दै नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ कोलोराडोमा नोभेम्बर ७ मा दुई छुट्टाछुट्टै स्थानमा देउसी–भैलो कार्यक्रम आयोजना हुने भएको छ ।

नेपाली घरको आयोजनामा वेस्टमिन्स्टर स्थित नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा हुने कार्यक्रम साँझ ५ बजे देखि राति ९ बजेसम्म सञ्चालन हुनेछ । आफ्नो स्थापना कालदेखि नै देउसी भैलो खेल्दै आएको नेपाली घरले कार्यक्रमलाइ भब्य र सब्यरूपमा सफल बनाउन साँस्कृतिक सचिव दिनेश कार्किलाइ संयोजनको जिम्मा दिएको छ ।

यसैगरी, अरोरा तथा सेन्टिनियलवासी नेपाली समुदायको आयोजनामा अरोरास्थित Falcon Creek Middle School मा साँझ ५ देखि ९ बजेसम्म देउसी–भैलो कार्यक्रम हुनेछ। यस स्थानको कार्यक्रम सफलातका साथ सम्पन्न बनाउन नेपाली घरका कोषाध्यक्ष राजन सापकोटाले संयोजनको जिम्मा लिएका छन् ।

नेपाली घरका अध्यक्ष गंगा चौलागाईंले कोलोराडोमा रहेका सबै नेपाली संघसंस्था तथा नेपाली भाषी समुदायलाई आफूलाई पायक पर्ने स्थानमा सहभागी भई कार्यक्रम सफल बनाउन र नेपाली सांस्कृतिक केन्द्रको संरक्षण तथा विकासमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रवासमा आयोजना हुने यस्ता कार्यक्रम मनोरञ्जन र शुभकामना आदानप्रदानमा मात्र सीमित छैनन्। देउसी–भैलोले नयाँ पुस्तालाई नेपाली भाषा, लोकगीत, मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्छ। देउसीबाट संकलित सहयोग सामुदायिक संस्थाको संरक्षण र विकासमा जुटाउन सकिने भएकाले यस्ता कार्यक्रमको सामाजिक महत्वसमेत रहेको छ।

हिन्दू परम्परामा कात्तिक महिनामा दान तथा पुण्यकर्म गर्नु शुभ मानिन्छ। यही धार्मिक विश्वास, सांस्कृतिक निरन्तरता र सामुदायिक सहकार्यको भावनासहित आयोजना हुन लागेका कार्यक्रमलाई सफल बनाउन अध्यक्ष चौलागाईंले कोलोराडोवासी नेपालीभाषी समुदायलाइ सःपरिवार सक्रिय सहभागिताको लागी हार्दिक अनुरोध गरेका छन् ।

आयोजकले दुबै स्थानमा संकलित दान दक्षिणाबाट खर्च कटाइ बाँकी रहेको रकम नेपाली घरको खातामा जम्मा गरिने जनाउदै यस अभियानमा सहभागिताका लागी अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्