नेपाल । राज्यका संवेदनशील सूचना अनधिकृत व्यक्तिमार्फत चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई सरकारले बर्खास्त गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले दाहाललाई बर्खास्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँ माथि संवेदनशील सूचना बाहिर पुर्याएको आरोपमा सशस्त्र प्रहरीका एआइजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा छानबिन भएको थियो ।
उक्त जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाउँदै पदीय आचरणविपरीत गतिविधि गरेको निष्कर्षसहित बर्खास्तीसम्मको कारबाही सिफारिस गरेको थियो ।
संवेदनशील सूचना चुहावट गरी पदीय आचरण विपरीत काम गरेको प्रकरणमा गृह मन्त्रालयले दाहाललाई निलम्बन गरी छानबिन अघि बढाएको थियो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११३ मा सेवाबाट हटाउने तथा बर्खास्त गर्नेसम्मको विभागीय सजायको व्यवस्था छ । नियम ११५ अनुसार एआइजीलाई विभागीय सजाय दिने अधिकारी गृहमन्त्री हुने व्यवस्था छ ।
यस्तो निर्णयविरुद्ध नेपाल सरकार ९मन्त्रीपरिषद्०मा पुनरावेदन गर्न सकिने प्रावधानसमेत छ ।
दाहालको चार वर्षे पदावधि असोज २८ गते पूरा हुँदै थियो । सशस्त्र प्रहरी मुख्यालयले उहाँको पदावधि एक वर्ष थप गर्न सिफारिस गरेको भए पनि बर्खास्तीको निर्णयसँगै पदावधि थपको सम्भावना समाप्त भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्