-सुदीपभद्र खनाल-
चढेर मेचमा बसे सुदृष्टि मुक्त बन्दछ
निमेषमै नशा चढी कुदृष्टि युक्त बन्दछ
पछारिए उही पला सचेत सभ्य बन्दछ
छ जादु के प्रभाव के स्वभावनै बदल्दछ ?
न उक्लिँदै अगाडिनै उ अम्मली नसेड छ
चढेपछी त छोइगो न छो मुला तँ भन्दछ
झरेर मार्गमा खसे सुदृष्टि युक्त बन्दछ
छ जादु के र मेचमा थपेर “कू” बिगार्दछ?
प्रलम्भ दम्भ दानवी भरेर सभ्य व्यक्तिमा
अचम्म ! दैत्यका कला पला सरक्क एकमा
कसो गरी चढाउँदै डढाउँदै मनुष्यता !
छ के र जादु मेचमा विवेकशून्य पार्दछ ?
छ को चढेर मेचमा बचाउने विवेक त्यो
छ को डढेर अग्निमा सचेतना समेतको
सफेद कालिमा घसी र शक्तिमा बसी छ को
छ के र जादु मेचमा अमानवीय पार्छ त्यो ?
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्