२० आश्विन २०८३, मंगलवार

थाइल्यान्डमा बाढीका कारण कम्तीमा ३१ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , October 6th, 2026

अमेरिका । थाइल्याण्डमा सेप्टेम्बर मध्यदेखि आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेपछि अधिकारीहरूले थप वर्षा र आकस्मिक बाढीको जोखिमबारे चेतावनी दिएका छन् ।

थाइल्याण्डको मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि बुधबारसम्म देशको माथिल्लो भेगका अधिकांश क्षेत्रमा चट्याङसहितको वर्षा, तीव्र हावा र भारी वर्षाको सम्भावना छ । विशेषगरी होचा भू–भागमा आकस्मिक बाढीको जोखिम रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

सप्ताहान्तमा राजधानी बैंककसहित मध्य, पूर्वी र दक्षिणी क्षेत्रका केही स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । गत साता लगातारको मुसलधारे वर्षापछि बैंककका धेरै क्षेत्र डुबानमा परेका थिए । हजारौँ मानिस विस्थापित भएका थिए भने जनजीवन प्रभावित भएको थियो । अहिले अधिकांश क्षेत्रमा अवस्था सुधार हुँदै गए पनि होचा क्षेत्रमा पानी जमेको छ ।

थप बाढीको जोखिम कम गर्न बैंककका अधिकारीहरूले मुख्य नहरबाट थप पानी निकास गर्ने तथा उच्च जोखिमयुक्त क्षेत्रमा थप पानी तान्ने पम्प जडान गर्ने काम गरिरहेका छन् ।

विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार सोमबारसम्म देशभर ३५ लाखभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । बाढीमा मृत्यु हुने ३१ जनामध्ये चार जना बैंककका र बाँकी सात अन्य प्रान्तका रहेका छन् । मृतक भने कुल आठ प्रान्तमा रहेका छन् ।

बाढीबाट भएको क्षतिपछि थाइ सरकारले पुनर्लाभ तथा राहतका लागि गत साता चार अर्ब १० करोड भाटभन्दा बढी अर्थात् करिब १२ करोड २० लाख अमेरिकी डलर बराबरको आपत्कालीन कोष स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्