९ आश्विन २०८३, शुक्रबार

काठमाडौँ आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध

कोलोराडोखबर संवाददाता , September 25th, 2026

नेपाल । काठमाडौँ आवतजावत गर्ने सबै मुख्य राजमार्ग पहिरोले अवरुद्ध भएका छन्। बिहीबार दिउँसदेखि निरन्तर परिरहेको वर्षाको कारण पृथ्वी राजमार्ग, कान्तीलोकपथ र बीपी राजमार्गमा आवतजावत ठप्प बनेको हो।

धादिङको कृष्णभिरसहित आधा दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ। कृष्णभिरसहित सात ठाउँमा ढुंगासहितको पहिरो खसेकाले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

अविरल वर्षासँगै बीपी राजमार्गका विभिन्न स्थानमा सडक माथिबाट लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार शुक्रबार बिहान ४ः३० बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ चारसयवेशी र वडा नं। ८ गिम्दीवेशीमा सडक माथिबाट पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको हो।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अविरल वर्षासँगै रोशी खोलाको पनौती जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरी बढ्दो क्रममा रहेको बताउनुभयो। उहाँले जलसतहले सतर्कता तह पार गरेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा बसोबास गर्ने समुदायलाई सतर्कता अपनाउन आग्रह गर्नुभयो।

उहाँले लेदोसहितको पहिरोका कारण बीपी राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएको र वर्षाका कारण पहिरो हटाउने कार्यमा समेत बाधा पुगेको बताउनुभयो। उहाँले राजमार्गमा यात्रा गर्नुअघि स्थानीय प्रहरी वा प्रहरीको सञ्चार नम्बर १०० तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ९डीओसीई० को १२३४ नम्बरमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्