५ आश्विन २०८३, सोमबार

कोलोराडोमा ‘दशैं-तिहार कप २०२६’ क्रिकेट प्रतियोगिता हुँदै

कोलोराडोखबर संवाददाता , September 21st, 2026

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुद, संस्कृति, मित्रता र आपसी सद्भाव बढाउने उद्देश्यले आयोजना हुन लागेको ‘दशैं–तिहार कप २०२६’ लेदर बल क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह सेप्टेम्बर २६, शनिबार बिहान ८ बजे हुने भएको छ।

हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेसन इन्टरनेसनल (HHHE) को प्रस्तुतिमा हुने प्रतियोगिता थर्नटन स्पोर्ट्स कम्प्लेक्समा आयोजना हुनेछ। आयोजकले उद्घाटन समारोहमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाइदिन कोलोराडोमा रहेका सम्पूर्ण नेपालीभाषी समुदाय, संघसंस्थाका प्रतिनिधि, व्यवसायी, खेलप्रेमी तथा परिवारजनलाई हार्दिक अनुरोध गरेको छ।

प्रतियोगितामा रकी माउन्टेन क्रिकेट क्लब, गोर्खे ब्वाइज क्रिकेट क्लब, कोलोराडो ड्रागन्स र कोलोराडो राइनोज गरी चार टोली सहभागी हुनेछन्। खेलहरू सेप्टेम्बर २६ र २७ तथा अक्टोबर ३ र ४ तारिखमा सञ्चालन हुनेछन्। प्रतियोगिताको फाइनल खेल अक्टोबर ४ मा शीर्ष दुई टोलीबीच हुनेछ।

उद्घाटन समारोहपछि सेप्टेम्बर २६ बिहान ९ बजे रकी माउन्टेन क्रिकेट क्लब र कोलोराडो ड्रागन्सबीच पहिलो खेल हुनेछ। सोही दिन दिउँसो २ बजे गोर्खे ब्वाइज र कोलोराडो राइनोजबीच दोस्रो खेल खेलिनेछ।

नेपालीहरूको महान् चाड दशैं र तिहारको अवसरमा आयोजना गरिएको यस प्रतियोगिताले नेपाली संस्कृति, एकता र सामुदायिक सम्बन्धलाई अझ मजबुत बनाउने आयोजकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्