नेपाल । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा दिउँसो २ बजे बैठक बस्ने कांग्रेसले जनाएको छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गर्नुभएको छ ।
सर्वोच्चद्वारा दरपीठ आदेश सदर, कांग्रेसलाई महाधिवेशन गर्ने बाटो खुला
यसैबीच, सर्वोच्च अदालतले दरपीठ आदेश सदर गरेसँगै नेपाली कांग्रेसलाई आफ्नो महाधिवेशन गर्ने बाटो खुलेको छ।
नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै परेको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गर्ने सर्वोच्च प्रशासनको निर्णयलाई इजलासले सदर गरिदिएपछि महाधिवेशन अघि बढाउने बाटो खुलेको हो।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यसअघि रजिस्ट्रार प्रशासनबाट भएको दरपीठ आदेशलाई नै सदर गरेको हो।
महाधिवेशनसम्बन्धी विवादलाई लिएर दर्ता गर्न खोजिएको निवेदनउपर प्रशासनले दरपीठ गरिदिएको थियो र त्यसविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै इजलासले उक्त दरपीठ आदेशलाई नै सदर गरिदिएको हो।
अदालतको यो आदेशसँगै नेपाली कांग्रेसको आन्तरिक महाधिवेशनसम्बन्धी प्रक्रियामा तत्काल कुनै कानुनी अड्चन नआउने स्पष्ट भएको छ।
यो निर्णयपछि पार्टीको पूर्वनिर्धारित कार्यतालिकानुसार तल्लो तहदेखि केन्द्रीय महाधिवेशनसम्मका तयारी अगाडि बढाउन सहज वातावरण बनेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्