-हेमराज शर्मा-
आज बिहीबार हामी गैरआवासीय नेपाली संघको टोली नुवाकोटका विभिन्न बाढीपीडित क्षेत्रको स्थलगत भ्रमण तथा राहत सामग्री वितरण कार्यमा खटिएका थियौं। यस क्रममा हामीले स्थानीय बासिन्दा, जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका फिल्ड कमाण्डरसँग प्रत्यक्ष संवाद गरी त्यहाँको वस्तुस्थिति बुझ्ने अवसर पायौं। साथै, संघको तर्फबाट काठमाडौंबाट लगिएका राहत सामग्री (टेन्ट, म्याट, खाद्य सामग्री, लत्ताकपडा, औषधि तथा बत्ती) समेत वितरण र हस्तान्तर गर्यौं। आजको स्थलगत भ्रमण तथा राहत वितरण कार्यमा सहभागी हुनुभएका संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, निवर्तमान अध्यक्ष डा बद्री केसी, पदाधिकारीहरू तथा सम्पूर्ण स्वयंसेवकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
नुवाकोटको सदरमुकाम विदुर आसपासको अवस्था प्रत्यक्ष हेर्दा बाढीबाट भएको क्षति हामीले पूर्वानुमान गरेभन्दा निकै भयावह रहेको महसुस भयो। कैयौं गाउँ तथा बस्ती, सडक र सडकमा गुडिरहेका सवारीसाधनसमेत बाढीले बगाएको देख्दा मानवीय क्षति अकल्पनीय हुन सक्ने देखिन्छ।
बाढी आएको दोस्रो दिन मात्रै भएकाले अहिले सुरक्षाकर्मीहरू मुख्यतः पीडितहरूको खोज तथा उद्धारमा केन्द्रित रहेको हामीले देख्यौं। बाढीले बगाएर टाढासम्म पुर्याएका वा माटोमुनि पुरिएका मानिसहरूको संख्या कति छ भन्ने यकिन हुन अझै समय लाग्ने देखिन्छ। केही शव जमिनको सतहमा देखिएका थिए भने सुरक्षाकर्मीहरूले तालिमप्राप्त कुकुरको प्रयोग गरी बेपत्ताहरूको खोजी गरिरहेको दृश्य पनि हामीले देख्यौं।
दर्जनौं पुल भत्किएका कारण त्रिशूली नदी वारि र पारिका बस्तीबीचको सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। कतिपय परिवारमा आमाबुबा वारि र छोराछोरी पारि छुट्टिएको पीडादायी अवस्थासमेत हामीले थाहा पायौं। सडक सम्पर्क टुटेकाले राहत सामग्री हेलिकप्टरमार्फत पारि पुर्याउनुपर्ने अवस्था छ। विदुरस्थित सैनिक ब्यारेकबाट पाँच–छ वटा हेलिकप्टर राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन तथा त्यहाँबाट घाइतेहरूको उद्धार गर्न निरन्तर परिचालित भइरहेको हामीले देख्यौं।

निजी सम्पत्तिको क्षतिका अतिरिक्त जलविद्युत् आयोजना, सडक, पुल, विद्यालय तथा अस्पताललगायतका भौतिक संरचनामा भएको विनाश हेर्दा पुनर्निर्माणका लागि खर्बौं रुपैयाँ आवश्यक पर्न सक्ने अनुमान गर्न सकिन्छ। समयमै पुनर्निर्माण हुन नसके प्रभावित क्षेत्र विकासका दृष्टिले धेरै वर्ष पछाडि धकेलिनेछन्। मानवीय क्षतिका कारण परिवार, समाज र व्यक्तिको मानसिक तथा सामाजिक जीवनमा पर्ने दीर्घकालीन प्रभावको त झन् लेखाजोखा गर्न कठिन छ।
यो अवस्था प्रत्यक्ष देखेपछि महसुस भएको छ, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरू महाभूकम्पमा जस्तै फेरि एकपटक एकजुट भएर राहत, उद्धार र पुनर्निर्माणमा जुट्नुपर्ने बेला आएको छ।
उद्धार तथा राहत कार्यमा मुख्यतः सुरक्षाकर्मीहरू खटिएको हामीले पायौं। जनस्तरबाट अपेक्षित सक्रिय सहभागिता भने पर्याप्त देखिएन। विदुरस्थित सैनिक ब्यारेकअगाडि हेलिकप्टर हेर्न र फोटो खिच्न मानिसहरूको ठूलो भीड देखिन्थ्यो। स्थानीय जनप्रतिनिधिहरू पनि परिस्थितिको गम्भीरता र आकस्मिकताका कारण केही अन्योलमा परेको हामीले महसुस गर्यौं।
भूकम्पको समयमा जस्तै स्थानीय जनप्रतिनिधि, आमनागरिक, सामाजिक संघसंस्था तथा राजनीतिक दलका कार्यकर्ताहरूको सक्रिय र समन्वयात्मक सहभागिता हुन सके उद्धार तथा राहत कार्य अझ प्रभावकारी बन्न सक्थ्यौ होला। केन्द्र सरकार, स्थानीय तह र समुदायबीच अब कुनै दूरी वा समन्वयको अभाव रहनु हुँदैन।
आदरणीय गैरआवासीय नेपाली साथीहरू, हामीले घोषणा गरेको रु. ५ करोड बराबरको आर्थिक सहयोग जुटाउने अभियानलाई सफल बनाउन आर्थिक सहायता संकलनलाई तीव्रता दिनुहुन हार्दिक अनुरोध गर्दछु। विपद्को यस कठिन घडीमा हामी सबैले आ–आफ्नो ठाउँबाट गर्ने सानो–ठूलो प्रत्येक सहयोगले पीडित परिवारलाई तत्काल राहत पुर्याउनुका साथै पुनर्निर्माणको लामो यात्रामा महत्वपूर्ण योगदान पुर्याउनेछ। हामी राहत, उद्धार तथा पुनर्निर्माणका आगामी कार्यक्रमहरूबारे निरन्तर जानकारी गराउँदै जानेछौं।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्