२ भाद्र २०८३, मंगलवार

संसदमा जवाफ दिन प्रधानमन्त्री शाहलाई सभामुख अर्यालको रुलिङ

कोलोराडोखबर संवाददाता , August 18th, 2026

नेपाल । सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उठेका विषयको जवाफ दिन रुलिङ गर्नु भएको छ । सोमबारको बैठकको सुरुआतमा विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्रीलाई जवाफ दिन निर्देशन दिनु भएको हो ।

उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न उत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। विपक्षीले प्रधानमन्त्री शाहको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्चाउनुपर्ने माग राख्दै आइरहेका छन् ।’

यसैबीच विपक्षी दलको लामो समयदेखिको मागका बिच प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ १० गते प्रश्नोत्तर हुने भएको छ ।

२०८२ फागुन २१ गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीको व्यवस्थाबमोजिम पहिलो पटक सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको हो । यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते आकस्मिक रूपमा प्रतिनिधि सभामा प्रश्नोत्तरमा भाग लिनुभएको थियो । दलीय प्रतिनिधित्वका आधारमा आकस्मिक रूपमा नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई जवाफका लागि रुलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्