१ भाद्र २०८३, सोमबार

बीपीको राष्ट्रिय मेलमिलापको प्रसङ्गलाई आफ्नो स्वार्थअनुकूल व्याख्या नगरौंः गगन थापा

कोलोराडोखबर संवाददाता , August 17th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको प्रसङ्गलाई नेताहरूले आफ्नो स्वार्थअनुकूल व्याख्या गर्न नहुने बताएका छन्।

बीपीको विचार र योगदानबारे लेखिएका पुस्तक तथा अनुसन्धानले वास्तविक सन्दर्भ बुझ्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

थापाले धर्म गौतमले सार्वजनिक गरेको पुस्तक बिमोचन समारोहमा उक्त पुस्तक वर्तमान सन्दर्भमा आधिकारिक र महत्वपूर्ण रहेको पनि बताए।

उनले अहिले नेताहरूले रातारात बीपी कोइरालालाई सम्झन थालेको भन्दै त्यसलाई लेनदेन र तत्कालीन स्वार्थसँग जोडेर हेर्न नहुने बताए। अहिले कसैसँग मिल्न वा कानेखुसी गर्नुपर्ने भए त्यसलाई स्पष्ट रूपमा भन्न सक्ने हिम्मत गर्नुपर्ने उनको भनाइ छ।

थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै व्यक्ति वा समूहले घरभित्रै कैद गरेर राख्न नहुने बताए। बीपीको आह्वानमा आफ्नो परिवार छाडेर हजारौँ मानिस आन्दोलनमा होमिएको स्मरण गर्दै उनले बीपीको विचार र योगदानलाई सीमित घेराभित्र राख्न नहुने धारणा राखे।

उनले बीपीको विचारलाई गलत ढङ्गले उद्धृत वा व्याख्या गर्ने क्रम बढेको भन्दै त्यसलाई सच्याउन आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्