९ श्रावण २०८३, शनिबार

कविता: परिवर्तन

कोलोराडोखबर संवाददाता , July 25th, 2026

-सुदीपभद्र खनाल-

बुझ्नेले नबुझे वुलन्द कविता लेखेर के हुन्छ र
सुन्नेले नसुने सुशव्द सरिता पोखेर के हुन्छ र
हेर्नेनै नभए गरेर रमिता मेला कहाँ हुन्छ र
पानी शुद्द बिना शरीर कपडा धोएर धोइन्छ र ?

हानी पत्थरले उचा शिखरमा के शैल होचिन्छ र
काँडाले जति घेरिए पनि खुली के फूल फक्रन्न र
मानी पत्थरलाई स्वर्ण गुणले त्यो स्वर्ण भैदिन्छ र
छेक्दैमा नव पाइला समयको छेकेर छेकिन्छ र ?

आगो हुन्न जलेर भष्म कहिल्यै जल्छन् मुढानै बुझ
पाँगो बन्दछ वालुवा र कसरी उम्रन्छ खै सत्बीज
झन्झावात कडा उठेपनि खडा हुन्छन् सधैँ पर्वत
जस्तै होस् व्यवधान के प्रकृतिको यात्रा अडेको छ त ?

फेरिन्छन् ऋतुझैँ हरेक पलमा सत्ता र नेताहरू
होमिन्छन् चरुझैँ प्रभा-अनलमा थोत्रा पुरानाहरू
यौटै शाश्वत सत्य हो सब छ जे फेरिन्छ यो हर्पल
भित्री चक्षु अहं निशीथ नभए देखिन्छ सत झल्मल ।

-हाल अमेरिका ।

प्रतिक्रिया दिनुहोस्