२२ असार २०८३, सोमबार

सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको गम्भीर आरोप

कोलोराडोखबर संवाददाता , July 6th, 2026

नेपाल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको गम्भीर आरोप लगाएका छन् ।

आइतबार नेकपा उपत्यका प्रदेश समितिले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।

संयोजक दाहालले वर्तमान बालेन शाह नेतृत्वको सरकार सुशासन र विकासका लागि नभई संविधान र संघीयता अन्तर्गत महिला, दलित, आदिवासी र जनजातिले पाएका अधिकार खोस्न उद्धत रहेको टिप्पणी गरे । सरकारले उचित विकल्पविना सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरू खारेज गर्ने, ट्रेड युनियनको अधिकार खोस्ने र देशको सिमानाको विषयमा जथाभाबी बोल्ने काम गरिरहेको उनको भनाइ छ।

आफ्नो पार्टीको विगतको समीक्षा गर्दै अध्यक्ष दाहालले कम्युनिस्ट आन्दोलनमा आफूहरूले वर्ग संघर्ष, विचार र दीर्घकालीन रणनीतिलाई बेवास्ता गरेर दैनिक कार्यनीतिमा मात्र रमाउने गम्भीर गल्ती गरेको स्वीकार गरे ।

विगतका गल्ती र कमजोरीबाट शिक्षा लिँदै अब सरकारका जनविरोधी र संविधानविरोधी कदमका विरुद्ध पार्टी पंक्तिलाई एकजुट भएर आन्दोलनमा होमिन उनले विशेष आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्