-नातिबाब भट्ट (कोलोराडो, अमेरीका) । अमेरीकामा प्राइमरी इलेक्सनको माहोल चलिरहेको बेला कोलोराडोका शीर्ष नेताहरू र नेपाली समुदायका सदस्यहरू बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ ।
अध्यक्ष नारायण श्रेष्ठको नेतृत्वमा रहेको हेल्पिङ ह्यान्ड्स एजुकेशन संस्थाले आयोजना गरेको चुनावी भेटघाट तथा सामुदायिक अन्तरक्रिया कार्यक्रममा कोलोराडोका प्रमुख राजनीतिक नेताहरू र नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरू बिच भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपालीभाषी समुदायका प्रतिनिधीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सन् २०२६ को प्राथमिक निर्वाचनलाई लक्षित गर्दै आयोजित उक्त कार्यक्रमलाई समुदायको आवाज सुन्ने अवसरका रूपमा प्रस्तुत गरिएको थियो, जहाँ अध्यागमन नीति, साना व्यवसायको संरक्षण, सार्वजनिक सुरक्षा तथा नागरिक अधिकारजस्ता महत्वपूर्ण विषयमा विस्तृत प्रश्नोत्तर कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा उम्मेदवारहरू सहभागी थिए। सहभागी प्रमुख व्यक्तित्वहरूमा कोलोराडोका अमेरिकी सिनेटर तथा गभर्नर पदका प्रमुख उम्मेदवार माइकल बेनेट, अमेरिकी प्रतिनिधिसभामा कोलोराडोको दोस्रो संसदीय जिल्लाका प्रतिनिधि जो नेगुसे, हालका बोल्डर काउन्टी जिल्ला अभियोजक तथा कोलोराडोको भावी महान्यायाधिवक्ता पदका उम्मेदवार माइकल डोअर्टी, वेस्टमिन्स्टर शहरकी मेयर क्लारा कार्मेलिया, बोल्डर काउन्टी कमिस्नर मार्टा लोचामिन, सुपेरियर नगरका पूर्वमेयर टिम फोल्सम, साथै विभिन्न नगर, काउन्टी र राज्य तहका प्रतिनिधिहरू सहभागी थिए।
नेपाली साँस्कृतिक केन्द्र नेपाली घरमा संञ्चालित कार्यक्रममा एनआरएनए एनसीसी अमेरिका, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपाली घर, तमु प्ये ल्हु, नेवा खलः, ग्लोबल फिल्म्स, ब्लड डोनर्स अफ अमेरिका, आईएनएलएस लगायत विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
एनआरएनए एनसीसी अमेरिकाका महासचिव आर.सी. पन्तले ७५ देशमाथि लागू गरिएको भिसा प्रतिबन्धका कारण विश्वभरका लाखौं परिवार, विशेष गरी नेपाली आप्रवासी समुदाय प्रभावित भएको विषय उठाउँदै सिनेटर बेनेटसँग अमेरिकी सिनेटमा यस विषयमा व्यक्त गर्नुभएको धारणा र यसलाई उच्च प्राथमिकतामा किन नलगिएको भन्ने प्रश्न राखेका थिए ।

साना व्यवसायी विकास त्रिपाठीले ठूला फ्रेन्चाइज ग्यास स्टेशनहरू “हरेक कुनामा” खुल्दै जाँदा स्थानीय रूपमा सञ्चालित सुविधा पसलहरू (Convenience Stores) गम्भीर रूपमा प्रभावित भएको गुनासो गरेका थिए । साथै, साना व्यवसायका लागि राज्यभर समान न्यूनतम ज्याला (Minimum Wage) लागू नगरिएको विषयमा प्रश्न उठाउँदै ठूला चेन कम्पनीहरूसँग श्रम लागतमा प्रतिस्पर्धा गर्न कठिन भएको खुलाए ।
एनआरएनए एनसीसी अमेरिकाकी सचिव संगीता लामा लामिछाने तथा साना व्यवसायी पदम विश्वकर्माले कोलोराडोमा विभिन्न जातीय तथा सांस्कृतिक समुदायविरुद्ध बढ्दो घृणाजन्य अपराध (Hate Crimes) प्रति चिन्ता व्यक्त गर्दै उम्मेदवारहरूसँग यस्तो अपराध नियन्त्रणका लागि उनीहरूको स्पष्ट धारणा र ठोस रणनीतिबारे प्रश्न गरेका थिए ।
साना व्यवसायी बसन्त लम्सालले कोलोराडोको “स्यान्क्चुअरी सिटी” नीतिको संरक्षण र वर्तमान संघीय प्रशासनबाट आप्रवासी समुदायमाथि पर्न सक्ने प्रभावबाट उनीहरूको सुरक्षाका लागि उम्मेदवारहरूको योजनाबारे जिज्ञासा राखेका थिए ।
अमेरिकी सिनेटर माइकल बेनेट र अमेरिकी प्रतिनिधिसभाका सदस्य जो नेगुसेले नेपाली तथा आप्रवासी समुदायका यी चासोहरू वासिङ्टन डी.सी. फर्किएपछि अमेरिकी सिनेट र प्रतिनिधिसभामा उठाउने स्पष्ट प्रतिबद्धता व्यक्त गरे। सिनेटर बेनेटले देश-आधारित भिसा प्रतिबन्धको निरन्तर विरोध गर्ने प्रतिबद्धता जनाए । सांसद नेगुसेले पनि प्रतिनिधिसभामा त्यसै विषयमा पहल गर्ने वचन दिए । दुवै नेताले यी प्रतिबद्धता केवल प्रतीकात्मक नभई ठोस रुपमानै समाधानको पहल हुने स्पष्ट पार्दै वेस्टमिन्स्टरमा उठाइएका समुदायका आवाजहरू प्रत्यक्ष रूपमा अमेरिकी संसदसम्म पुर्याइने र आप्रवासी तथा साना व्यवसायी समुदायको संरक्षण र सशक्तीकरणका लागि कानुनी पहल गरिने विश्वास दिलाए ।
कार्यक्रमको समापन गर्दै अमेरिकी सिनेटर तथा गभर्नर पदका उम्मेदवार माइकल बेनेटले अध्यागमन नीति, साना व्यवसायको संरक्षण र सार्वजनिक सुरक्षाजस्ता विषयहरू अलग-अलग नभई कोलोराडोको समग्र भविष्यसँग जोडिएका विषय भएको उल्लेख गरेका थिए । उहाँले प्रत्येक समुदायलाई निर्णय प्रक्रियामा समान सहभागिता र आवाज सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
अमेरिकी प्रतिनिधिसभाका सदस्य जो नेगुसेले पनि नेपाली समुदाय कोलोराडोको सामाजिक र आर्थिक संरचनाको अभिन्न हिस्सा भएको उल्लेख गर्दै राज्यको उज्ज्वल भविष्य नेपाली समुदायको सहभागिता र सशक्तीकरणबिना सम्भव नरहेको बताए ।
कोलोराडो महान्यायाधिवक्ता पदका उम्मेदवार माइकल डोअर्टीले आफू निर्वाचित भएमा महान्यायाधिवक्ताको कार्यालय सबै समुदायका लागि कानुनी सुरक्षा कवचका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सन् २०२६ को कोलोराडो गभर्नर निर्वाचनको प्राथमिक चुनाव जुन ३०, २०२६ मा हुँदै गर्दा यस्ता कार्यक्रमहरूले राज्यका विविध समुदायहरूको बढ्दो राजनीतिक सहभागिता र आगामी निर्वाचनको महत्वलाई झनै स्पष्ट पारेका छन्।
हेल्पिङ ह्यान्ड्स एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठद्वारा सञ्चालन तथा संयोजन उक्त कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक आफ्ना जिज्ञासा र सुझावहरू राखेका थिए तथा अमेरिकी सिनेटर माइकल बेनेट र अमेरिकी प्रतिनिधिसभाका सदस्य जो नेगुसेप्रति समर्थनसमेत व्यक्त गरेका थिए। कार्यक्रममा उठाइएका सबै प्रश्नहरूको उम्मेदवारहरूले विस्तृत रूपमा जवाफ दिएका थिए।
समापन मन्तव्यमा अध्यक्ष नारायण श्रेष्ठले दुवै निर्वाचित जनप्रतिनिधिलाई समय निकालेर समुदायसँग प्रत्यक्ष संवाद गरेकोमा धन्यवाद दिएका थिए । साथै उनले नेपाली समुदायको सक्रिय सहभागिता, लोकतान्त्रिक प्रक्रियाप्रतिको प्रतिबद्धता र सार्थक संवादको प्रशंसा गर्दै सबैलाई सोच बिचारगरी आगामी निर्वाचनमा अनिवार्य रूपमा मतदान गर्न आग्रह गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्