नेपाल । निर्देशक मिलन चाम्सको निर्देशनमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गर्दै बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको हो ।
चलचित्रको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका जोडी कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा गरेका हुन् । मदनकृष्णको जिन्दगीका सुख, दुःख समेट्दै उनको सम्पूर्ण जीवन सङ्घर्ष र आरोह–अवरोहलाई समेटेर बायोपिक सिनेमा ‘मदनकृष्ण’ निर्माण हुनेछ ।
बायोपिक चलचित्र ‘मदनकृष्ण’लाई चर्चित निर्देशक मिलन चाम्सले निर्देशन गर्दैछन । मिलन चाम्स बायोपिक निर्माणमा अब्बल निर्देशक मानिन्छन् । उनले गत वर्ष चलचित्र ‘अञ्जिला’ निर्माण गरेका थिए, जुन राष्ट्रिय फुटबल टिमकी गोलरक्षक तथा क्याप्टेन अन्जिला तुम्बाप्पेको बायोपिक थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट भएको थियो । समीक्षात्मक रूपमा पनि सफल भएको थियो ।
मिलनले बायोपिक ‘बबी’ र ‘ब्लाइन्ड रक्स’ पनि निर्देशन गरेका थिए । जसले राम्रो चर्चा बटुलेका थिए । त्यसैले मिलनलाई बायोपिक निर्माणका लागि कुशल तथा अनुभवी निर्देशक मानिन्छ ।
नेपाली अभिनेताको बायोपिक चलचित्र बन्न लागेको यो पहिलो पटक हो । अन्य क्षेत्रका व्यक्तिको बायोपिक बने पनि नेपाली अभिनेताको बायोपिक भने हालसम्म बनेको थिएन । समग्र कलाकारमा भने गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’ बनेको थियो ।
मदनकृष्णको बायोपिकमा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । यो बायोपिकको शीर्ष भूमिकामा दर्शकले केकी अधिकारीलाई देख्न पाउनेछन् । केकीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्णको बाल्यकाल, सरकारी जागिरे जीवन, हरिवंशसँगको सहकार्य, अन्तरजातीय विवाह लगायतको कथा बायोपिकमा समावेश हुनेछ । चलचित्रमा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ, देशभक्त खनालको पनि अभिनय रहनेछ ।
यस चलचित्रमा मदनकृष्णको कलाकारिताका मुख्य जोडी हरिवंशको भूमिका कसले निर्वाह गर्नेछन् भन्ने विषयचाहिँ अझै खुलेको छैन ।
मदनकृष्णलाई धिमे बाजाले स्वागत गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । माला र खादाले मदकृष्णलाई बधाई र शुभकामना दिँदा मदकृष्ण भावविह्वल भएका थिए । हरिवंश आचार्यको छेउमा बसेका उनले भने आँसु थाम्न सकेनन् । हरिवंशले उनलाई बायोपिकका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा ७६ वर्षीय वरिष्ठ कलाकार मदनकृष्णले आफूमाथि बन्न लागेको बायोपिक सिनेमालाई लिएर खुसी व्यक्त गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्