नेपाल । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ (सीमापार उपयोग) सँग सम्बन्धित रहेको स्पष्टीकरण दिनुभएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै मन्त्री खनालले नेपाल–भारत सीमाका विभिन्न स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ सम्बन्धी विवाद रहेको बताउनुभयो । उहाँले सरकारले सीमा क्षेत्रको यथार्थ अवस्था पहिचान गर्न नेपाल र भारतका संयन्त्रमार्फत नक्साङ्कन (म्यापिङ) को काम गरिरहेको समेत जानकारी दिनुभयो ।
सीमासम्बन्धी विस्तृत विवरण नक्साङ्कन सम्पन्न भएपछि सार्वजनिक हुने उहाँको भनाइ थियो । सीमा क्षेत्रमा दुवै पक्षले आ–आफ्नो उपभोगमा रहेको भूभागमाथि दाबी गर्दै आएको बताउँदै प्रधानमन्त्रीले संसद्मा व्यक्त गर्नुभएको भनाइ पनि यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ को सन्दर्भसँग सम्बन्धित रहेको उहाँले दोहोऱ्याउनुभयो ।
परराष्ट्रमन्त्री खनालले सीमा विवादको मूल प्रश्न यसको शान्तिपूर्ण निरूपण नै भएको बताउनुभयो । नेपाल–भारत सीमा द्विपक्षीय विषय भएकाले दुई देशबिच रहेको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा यस समस्याको समाधान कूटनीतिक संवाद र वार्तामार्फत गर्न नेपाल प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्