नेपाल । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२–८३ को १० महिना (साउन–वैशाख) सम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । वैशाखमा मात्रै दुई खर्ब ५७ अर्ब ४९ करोड रुपियाँ विप्रेषण भित्रिएको छ ।
१० महिनामा भित्रिएको विप्रेषण गत आवको सोही अवधिसम्मको तुलनामा ४१.२ प्रतिशतले बढी हो । अमेरिकी डलरमा भने यो १३.३ प्रतिशतको वृद्धि हुन आउँछ ।
विप्रेषण आप्रवाह बढ्दा त्यसले नेपालभित्र विदेशी मुद्राको सञ्चिति पनि विस्तार गरेको छ । राष्ट्र बैङ्कसहित बैङ्क तथा वित्तीय संस्थामा अहिले ३७ खर्ब चार अर्ब रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । २०८२ असारको तुलनामा यस्तो सञ्चिति ३८.३ प्रतिशतले बढेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । अमेरिकी डलरमा भने २४ अर्ब १९ करोड डलर सञ्चिति देखिन्छ ।
राष्ट्र बैङ्कका अनुसार कुल सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग मात्रै ३२ खर्ब ९८ अर्ब रुपियाँ बराबरको सञ्चिति छ भने बाँकी रकम अन्य बैङ्क तथा वित्तीय संस्थामा रहेको छ । कुल सञ्चितिले अहिलेकै व्यापार प्रवृत्ति अनुसार साढे २२ महिनाको वस्तु आयात र १९ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्