१५ जेष्ठ २०८३, शुक्रबार

गणतन्त्र दिवस मनाइँदै, शुक्रबार नै बजेट सार्वजनिक हुँदै

कोलोराडोखबर संवाददाता , May 29th, 2026

नेपाल । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा जेठ १५ गते राष्ट्रिय दिवस मनाइँदै छ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसदवादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए।

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसदबाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

बजेट प्रस्तुत गरिंदै
यता शुक्रबारनै सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै छ।

अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आवका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आएका छन् । आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ।

प्रतिक्रिया दिनुहोस्