२५ फाल्गुन २०८२, सोमबार

एनआरएनए पदाधिकारी र रास्वपा विदेश विभाग उपप्रमुख अर्जुन अधिकारीबीच छलफल

कोलोराडोखबर संवाददाता , March 9th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी तथा एनआरएन प्रतिनिधिहरूले रास्वपाका विदेश विभागका उपप्रमुख अर्जुन अधिकारीसँग छलफल गरेका छन् ।

छलफलका क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली नागरिकताको निरन्तरता, गोर्खा सम्बन्धी मुद्दा, लगानीमैत्री नीतिको विकास, वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या लगायत समसामयिक विषयहरूमा विचार–आदानप्रदान गरिएको थियो। साथै ती विषयहरूलाई प्रभावकारी रूपमा कसरी समाधान गर्न सकिन्छ भन्नेबारे पनि गम्भीर छलफल भएको बताइएको छ।

त्यसैगरी नेपालमा बन्ने नयाँ सरकारले गैरआवासीय नेपालीहरूले लामो समयदेखि उठाउँदै आएका मागहरूलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने विषयमा पनि केन्द्रित छलफल भएको थियो।

यस अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

सकारात्मक संवादका लागि समय उपलब्ध गराएकोमा अर्जुन अधिकारीलाई धन्यवाद दिँदै आगामी दिनमा नेपालको सामाजिक–आर्थिक विकासका लागि संयुक्त रूपमा सहकार्य गर्दै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरे । साथै गैरआवासीय नेपालीसँग सम्बन्धित नीतिगत विषयहरूमा सरकार, राजनीतिक दल र गैरआवासीय नेपाली संघबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ ।

भेटका क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी उपाध्यक्षहरू डा. हेमराज शर्मा र रोजिना प्रधान राई, उपमहासचिव सोम सापकोटा, एनआरएनए पूर्व उपाध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य डिबी क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्