११ फाल्गुन २०८२, सोमबार

नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , February 22nd, 2026

नेपाल । साहित्यकार नारायण ढकालको छैटौँ उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’ सार्वजनिक भएको छ । पब्लिकेसन नेपालयको कालिकास्थानस्थित आरशालामा शनिबार पुस्तक लोकार्पण गरिएको हो ।

ढकालले नातिनी रीति ढकाल र नाति रिवाज ढकाललाई पुस्तक उपहार दिएसँगै पुस्तक सार्वजनिक गरिएको थियो ।

लोकार्पण कार्यक्रममा ढकालले आफ्नो पाँच दशक लामो साहित्य यात्राको अनुभव सुनाए । बसमा, शौचालयमा, कलेजमा, घरमा लुकीलुकी पुस्तक पढ्ने बानीले बिस्तारै आफूभित्रको लेखक जाग्दै गएको ढकालले बताए ।

विद्यार्थी आन्दोलन, शिक्षक आन्दोलन, जेल यात्रा, पत्रकारिता, सांसद, हङ्ग्री जेनरेसन, यस्ता विविध घटना र मोडहरूको अस्थिर जीवन नै आफ्नो साहित्यिक खुराक बनेको ढकालले बताए ।

ढकालका छ उपन्यास, सात कथा संग्रह, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह, एक कविता संग्रह प्रकाशित छन् ।

पछिल्लो दुई सय ८६ पृष्ठको पुस्तकको मूल्य छ सय ७५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्