९ फाल्गुन २०८२, शनिबार

कविता: पार्टी भन्दा हरतरहले देश हो माथि जान

कोलोराडोखबर संवाददाता , February 21st, 2026

-सुदीपभद्र खनाल-
कोही भन्छन् अब त अति भो फाल सारा पुराना
कोही भन्छन् पृतिकर नयाँ नै सबै हुन्न जान
आआफ्नै नै मति विमति छन् एकता छैन गान
पार्टी भन्दा हरतरहले देश हो माथि जान

बोक्छन् पार्टी जनहृदयका बोल आस्था विचार
हिँड्छन् बोकी जिरह मतका भेद आवेग धार
जोड्ने सारा हृदय जनको शक्ति हो संविधान
पार्टीभन्दा हरतरहले देश हो माथि जान

हुन्छन् पार्टी मुलुक छभने देशमा हुन्छ पार्टी
पार्टीभित्रै भन त ल कहाँ जन्मियो देश साथी
पार्टी आस्था तर मुलुक हो आत्म साझा महान
पार्टीभन्दा हरतरहले देश हो माथि जान

पार्टी यौटा वनकुसुम हो देश हो फूलवारी
पार्टी पाटी मुलुक घर हो दिव्य साझा छहारी
उठ्दा हाम्रो मुलुक जनको शैलझैँ उठ्छ सान
पार्टीभन्दा हरतरहले देश हो माथि जान

हुन्नौ हामी मुलुक नरहे हुन्न हाम्रो विधान
पार्टी मात्रै यदि भनिरहे डुब्छ साम्राज्य जान
होउन् पार्टी तर मुलुकको राखियोस् उच्च मान
पार्टीभन्दा हरतरहले देश हो माथि जान

-हाल अमेरिका ।

प्रतिक्रिया दिनुहोस्