-लक्ष्मण आचार्य-
जनतालाई झुटा सपना देखाएर
अग्लो मञ्चमा आसन जमाउँदै
यथार्थ धरातलमा पाइलै नटेकी
दौडधुपमा गाडीबाटै हात हल्लाउँदै
कुटिल मुस्कानमा मुस्कुराउने
आइपर्दा जनतासँग दुरी बढाउने
नेता
विकासका लागि खतरनाक हुन्छ !
यदि मैले जिते भनेँ
भोलि नै देशलाई सिङ्गापुर बनाइदिन्छु
रातारात मेचीकाली रेल कुदाइदिन्छु भन्दै
यथार्थमा हावादारी कुरा गर्ने
देशको अर्थतन्त्रको कत्ति विश्लेषण नगरी
“छु मन्तर “मै समृद्धि ल्याइदिन्छु भनेर
जादुयी कुरा गर्ने नेता
साँच्चै !
हिटलरभन्दा बढी खतरनाक हुन्छ !
तपाईं हामी एउटै हौं भन्दै
चुनाव अघि भोटको लागि
हात जोडेर अनुनय विनय गर्ने
सिंहदरबार छिरेपछि भने
रङ्ग रुप फेरिएर अर्कै हुने नेता
प्रजातान्त्रकै लागि खतरनाक हुन्छ !
हिजो जे जे भयो भुल भयो
अब पक्कै सुधार गर्छु भनेर
बाहिर बाहिर क्षमायाचना गर्ने
तर भित्रभित्रै कैयन् षड्यन्त्रमा अघि सर्ने
चुनावका बेला अझ निहुरिएर लम्पसार पर्ने
नयाँ कुरालाई कत्ति आत्मसात नगर्ने
खालि पुरानै ढाँचा ढर्राको बाटो हिँड्ने नेता
देशकै लागि खतरनाक हुन्छ !
सँगै रोउँला सँगै हाँसौंला
के छ र ? दुःख सुख सँगसँगै बाँडौंला भन्दै
पैसा, मासुभात र आश्वासनमा जनता लोभ्याउने
आफ्नो मात्र दुनो सोझ्याउने
माथि पुगेपछि
भ्रष्टाचार गर्दै जनताको खुन पसिना चुसेर विदेशी बैंकमा पैसा थुपार्ने
देशको ढिकुटी नै रित्याउने
कानुनी शासनको धज्जी उडाउने नेता
वास्तव मै राजनीतिक रूपमै खतरनाक हुन्छ !
भाषण मिठो गर्ने
तर काममा सिन्कोसम्म नभाँच्ने
नेता खतरनाक हुन्छ
नीति सिद्धान्त र आदर्शलाई लत्याएर
नारा मात्र रटने कार्यकर्ता
आँखै अगाडि आफ्नै नेतृत्वका कर्तुतहरू
देखी देखी चुँ सम्म नबोल्ने
रत्ति मुख नखोल्ने
उल्टै प्रशंसाको फूल बुट्टा जोड्ने
आफ्ना नेता रावणै भए पनि राम ठान्ने
उनीहरूकै गुनगानलाई मुख्य काम ठान्ने
कार्यकर्ता झन् खतरनाक हुन्छ
भोट माग्दा तिमीलाई म चिन्छु भन्दै
नाता जोड्दै पुस्ता पुस्ता केलाउने
तर मनमा शकुनी झै पासा खेलाउने
आफ्नो स्वार्थ पूरा भएपछि
जनतालाई मान्छै नगन्ने
खालि आफूलाई सर्वैसर्वा ठान्ने
नेता
समाजका लागि सबैभन्दा खतरनाक हुन्छ !
खतरनाक हुन्छ त्यो नेता
जो चुनावी घोषणापत्रमा
फोस्रा नारा र गुलिया कुराहरू लिपिबद्ध गरी
खालि मञ्चका ताली र
झण्डा, जुलुस र नाराहरूमा
मख्ख पर्दै आफैँमा रमाउँछ
देश बनाउँछु भन्दै
आफू अनि नातागोता र
कार्यकर्तालाई मात्र बनाउँछ
हरदम विदेशी इसारामा नाच्ने
मनमा स्वार्थ मात्र साँच्ने नेता
राष्ट्र र राष्ट्रियताका लागि
जरुर खतरनाक हुन्छ
लोकतन्त्रको मुखौटा लगाई
यथार्थमा अराजक विचारहरू छाँट्ने
हरहमेशा जसरी भए पनि
पद र कुर्सी मात्रै ताक्ने
भेटेसम्म हसुरी केही बाँकी नराख्ने
नेता
सुशासनकै लागि खतरनाक हुन्छ
प्रचारबाजीमा कार्यकर्तालाई
दारु, पानी र पेट्रोल बाँड्ने
जनताका घर खेत बारीमा पुगेर
केवल देखाउन मात्र काम सघाउने
अङ्कमाल गर्ने हात समाउने
जीवन्त अभिनय गर्दै आँखाबाट आँशु चुहाउने
बिजोक पारामा अरुलाई समेत रुवाउने
नेता
साँच्चै ! व्बाँसोभन्दा बढी खतरनाक हुन्छ
झुट अहंकार र व्याभिचारको माला
गलामा भिरेर
मुहारभरि अबिर पोतेर
सुशासनको व्याख्यान छाँट्ने
नीति नैतिकताको खिल्ली उडाउँदै
भागबण्डाको राजनीति गर्ने
केवल भ्रमको बिउँ छर्ने
पटकपटक प्रतिशोध मात्र साँध्ने
“तित्राको मुखै बैरी” भनेझैँ
आफ्नो एजेन्डाभन्दा अरू निन्दामा शब्द खर्चिने
केवल चुनाव चुनावमा मात्र गाउँ आउने
सरकार बनाउन विदेशी दुतावास धाउने
त्यो नेता
बुझौँ, अवश्य हाम्रो सार्वभौम सत्ता र
स्वाधीनताकै लागि खतरनाक हुन्छ ।
-चन्द्रपुर, रौतहट ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्