नेपाल (हेटौँडा) । झरना साहित्यिक परिवार मकवानपुरले फागुन ५ र ६ गते बकैयाको छतिवनमा सातौँ बकैया कला साहित्य महोत्सव गर्ने भएको छ ।
महेन्द्र मावि प्राङगणमा हुने महोत्सवमा ३ सय २३ औँ साहित्य शृंखला, ३३ औँ वार्षिक उत्सवसँगै २०८२ का लागि विभिन्न ११ विधाका स्थानीय तथा राष्ट्रिय पुरस्कार पनि समर्पण गरिने बताइएको छ ।
झरनाले यसवर्ष समर्पण गर्ने २१ हजार १ सय २१ राशीको होमनाथ–टीकामाया प्रतिभा सम्मान पाँचथरका रमेश शुभेच्छुकलाई प्रदान गर्ने भएको छ । यो पुरस्कार साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गरेका हुन् ।
यस्तै, मुक्तकमा योगदान गरेवापत प्रदान गरिने १५ हजार ५ सय ५५ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई प्रदान गरिने भएको छ । यो पुरस्कार झरनाका संस्थापक रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित गरेका हुन् ।
यस्तै, जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेबापत प्रदान गरिने १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान डा। निमेष निखिल प्रदान गरिने भएको छ । सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित गरेका हुन् ।
यस्तै, साहित्यमा योगदान गरेका युवा साहित्यकारलाई प्रदान गरिने ८ हजार ५ सय रुपैयाँ राशी सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान नेपालगञ्जकी ऋचा लुइटेललाई प्रदान गरिने भएको छ । सम्मान साहित्यसेवी अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित गरेका हुन् ।
मकवानपुरका महिला साहित्यकारलाई प्रदान गरिने ७ हजार ७ सय ७७ रुपैयाँ राशीको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी संगीता थापालाई प्रदान गरिने भएको छ । सम्मान साहित्यसेवी राजन दङ्गालले आफ्नी दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेका हुन् ।
मकवानपुरको साहित्यसेवी रहेवापत प्रदान गर्ने नगद ७ हजार ७ सय ७७ रुपैयाँको सञ्जीवनी बुटी साहित्य सम्मान मकवानपुरका डा. अर्पण पराजुलीलाई प्रदान गरिने भएको छ । सम्मान साहित्यसेवी तुलसी गिरीले स्थापना गरेका हुन् ।
यस्तै, मकवानपुरमा रहेर संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिने नगद ११ हजार १ सय ११ रुपैयाँको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान पत्रकार दीपक अधिकारीलाई प्रदान गरिने भएको छ । यो सम्मान गोकर्ण गौतमको परिवारद्वारा स्थापना गरिएको हो ।
यस्तै, बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले स्थापित ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार बकैया–३ स्थित बुद्धमावि हात्तीसुढेकी मोनिका नेगीलाई प्रदान गरिने भएको छ ।
बकैयामा रहेका कला क्षेत्रमा योगदान गरेवापत प्रदान गर्न स्थापित नगद ७ हजार ७ सय ७७ रुपैयाँको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान मकवानपुरका सूर्य सन्यासीलाई प्रदान गरिने भएको छ । सम्मान बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापना गरेका हुन् ।
यस्तै, छन्द कवितामा उल्लेख्य योगदान गरेवापत नगद ९ हजार नौ राशीको ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२ भैरहवाकी सिर्जना खनाललाई प्रदान गरिने भएको छ । यो सम्मान जर्नादन खनाल र खनाल परिवारले स्थापना गरेका हुन् ।
यस्तै, लोक गीतसंगीतमा सेवा गरेबापत मातापिताको सम्मानमा झरना साहित्यिक परिवार मकवानपुरका संरक्षक उद्धव सापकोटा तथा भरत सापकोटाले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान’ साहित्यकार एवम् लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई दिइने भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्