१७ माघ २०८२, शनिबार

एनआरएनएको महाधिवेशन तयारी गर्न परराष्ट्रमन्त्री शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन

कोलोराडोखबर संवाददाता , January 30th, 2026

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च महिनाको दोस्रो साता हुने निर्वाचन संस्थाको विधानअनुसार नै गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको निर्वाचन मोडालिटीका विषयमा छलफल गर्न परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री बालानन्द शर्माले सरकार विधान र विधिभन्दा बाहिर गएर कुनै निर्देशन दिन नसक्ने स्पष्ट पार्दै संघको निर्वाचन हाइब्रिड (भौतिक तथा अनलाइन) माध्यमबाट गर्न निर्देशन दिएका हुन् ।

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले मन्त्रालयले सधैँ कानून र नियमको आधारमा मात्र निर्णय लिने स्पष्ट पार्दै कुन विधानअनुसार निर्वाचन गर्ने भन्ने विषयमा पहिले नै सहमति भइसकेको अवस्थामा पटक–पटक छलफल आवश्यक नरहेको बताए ।

बैठकमा उप–महासचिव सोम सापकोटा, सह–कोषाध्यक्ष कृष्ण तिमिल्सेना, साथै सल्लाहकार अतुल कोइराला, डीआरसी अमेरिका पूर्ण बनिया, आरडब्ल्यूसी अमेरिका इन्दिरा त्रिपाठी, अष्ट्रेलियाबाट सल्लाहकार भैरव ढकाल र देवेन्द्र बस्नेत सहभागी हुनुहुन्थ्यो ।

यस्तै, भर्चुअल माध्यमबाट अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्षहरु डा। हेमराज शर्मा, डा। बिनोद श्रेष्ठ, रामशरण सिम्खडा, विश्वास तिगेला, पूर्व अध्यक्ष राजेन्द्र कुमार ९आर।के।० शर्मा तथा बिनोद कुँवर, पूर्व उपाध्यक्ष केशव पौडेल, रतन कुमार झा, गौरी राज जोशी, बाबुराम लामा, भवानी प्रसाद ओली, गंगाधर गौतम तथा इन्द्रा बनको उपस्थिति थियो ।

सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, सहायक निर्देशक महेश श्रेष्ठ, वरिष्ठ अधिकृत कुनाल मिश्र तथा वरिष्ठ सञ्चार तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरे बैठकमा सहभागी थिए ।

यसैबीच, परराष्ट्र मन्त्रालयले आगामी १४ देखि १६ मार्चसम्म आयोजना हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा महाधिवेशनको तयारीका लागि परराष्ट्रमन्त्री बालानन्द शर्माको संयोजकत्वमा एक उच्चस्तरीय आयोजक समिति गठन गरेको छ ।

सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नेपाल सरकार र संघले संयुक्त रूपमा आयोजना गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्