१८ माघ २०८२, आईतवार

राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा

कोलोराडोखबर संवाददाता , January 30th, 2026

नेपाल । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०८२ का लागि राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कारको घोषणा गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिलाको अध्यक्षतामा बिहीबार ललितपुरमा बसेको कार्यसमितिको बैठकले उक्त सम्मान तथा पुरस्कारको घोषणा गरेको हो ।

प्रतिष्ठानले जनाएअनुसार ‘अमूल्य राष्ट्रिय कलाश्री सम्मान’का लागि वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई चयन गरिएको छ । त्यस्तै ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसै गरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस। सी। सुमनलाई तथा ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले जानकारी गराएअनुसार राष्ट्रिय कलाश्री सम्मान अमूल्य रहेको छ भने राष्ट्रिय कलाश्री पुरस्कारमा ताम्रपत्रसहित एक लाख रुपैयाँ, स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कारमा ७५ हजार रुपैयाँ, थिरछाया कलाश्री राष्ट्रिय ललितकला पुरस्कारमा ६० हजार रुपैयाँ र अन्य पुरस्कारमा ताम्रपत्रसहित पचास–पचास हजार रुपैयाँ राशि रहेको छ ।

उक्त पुरस्कार तथा सम्मान आगामी फागुन ४ गते काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिने पनि प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले कलाश्री सम्मान र पुरस्कारहरू विगत १७ वर्षदेखि निरन्तर समर्पण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्