नेपाल । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ ।
आयोगबाट स्वीकृत कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भट्टराईले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताउनुभयो ।
निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको शनिबार भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताउनुभयो ।
आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले हालसम्म गरेका मुख्य कामको जानकारी दिनुभएको थियो । सचिव राउतले समानुपातिक निर्वाचनको काम तालिका अनुसार अघि बढिरहेको र प्रत्यक्षतर्फको काममा आयोग अघि बढेको बताउनुभयो ।
राउतका अनुसार समानुपातिकतर्फ शुक्रबारसम्म ६१ लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । दुई करोड आठ लाख हारहारीमा मतपत्र छपाइ हुनुपर्नेमा दैनिक औसत दस लाख हाराहारीमा छपाइ भइरहेको पनि जानकारी उहाँले दिनुभयो । माघ ९ गते प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्गो लागेसँगै मतपत्रको डिजाइन स्वीकृत र छपाइ कार्य प्रारम्भ हुने उहाँले बताउनुभयो ।
निर्वाचन सामग्री खरिदको प्रक्रिया जिल्ला कार्यालयहरूलाई पनि हस्तान्तरण गरिएको र सोही अनुसार काम भइरहेको उहाँको भनाइ थियो । सरकार मातहतका संस्थासँग खरिदलाई प्राथमिकता दिएको जानकारी उहाँले दिनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्