३ माघ २०८२, शनिबार

कविता: समय-रथ

कोलोराडोखबर संवाददाता , January 17th, 2026

-सुदीपभद्र खनाल-

जडभरत धेरै छन् युगका काखमा जब
महाभारत नै हुन्छ बढ्दैछन् धूर्त कौरव
काटिन्छ अँगुठो अर्को मारिन्छ कर्ण काबिल
महायुद्द विना यौटा रोकिन्न अब खल्बल

भए धेरै जरासन्ध धृत अन्ध नराधम
नभए भङ्ग यो चाला नभए भङ्ग यो क्रम
स्वयम् हार्नेछ साम्राज्य कूट षड्यन्त्र यो बुझ
हे युवा राष्ट्रका नीम्ति पूर्ण जागृत भै उठ

जिन्दगी युद्द हो यौटा लड्नै पर्छ पलापला
खेपेर शकुनी शल्य घात अनेक अर्गला
नविर्स बन्दकी राखी विवेक बाँच्नु मृत्यु हो
लोकको हितका निम्ति लड्नू महान् सुकृत्य हो

नबनी स्वार्थको बन्दी नभनी के म पाउँछु
त्यागको भावले सच्चा भन राष्ट्र बनाउँछु
जगाऊ जनमा आशा निभाऊ रोग भोकको
गरीबी दाग फालेर मुहार फेर देशको

हुँदैन शान्ति यो युद्द नभए अनिवार्य छ
विना शान्ति कहाँ हुन्छ निर्माण मूल कार्य छ
यो धर्म युद्द हो जाग पक्र कर्तव्यको पथ
हे कर्म वीर हो आऊ हाँक यो पलको रथ

गर कर्म तिमी यस्तो प्रशंसा शत्रुले गरुन्
सुकर्म रङ्गका फूल सुवास सत्यका छरुन्
व्यवस्था स्थिति होस् यस्तो गर्व होस् त्यो प्रवन्धमा
नेपाली गर्वले भन्न म पाऊँ विश्वमञ्चमा

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्