२६ पुष २०८२, शनिबार

पुस २७ र २८ गतेका लागि नेपाली काँग्रेसको विशेष महाधिवेशन आह्वान

कोलोराडोखबर संवाददाता , January 8th, 2026

नेपाल । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको छ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पोखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरे । उनले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्व लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गरे ।

वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई एकताबद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उनको दावी छ । उनले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्