३ पुष २०८२, बिहीबार

विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान

कोलोराडोखबर संवाददाता , December 18th, 2025

नेपाल । पोखरा महानगरपालिकाले आफ्नो ६७ औँ स्थापना दिवसमा समाजका विभिन्न क्षेत्रका नौ अग्रजलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका प्रमुख धनराज आचार्यले बुधबार आयोजित समारोहमा उहाँहरूलाई जनही दुई लाख दुई हजार दुई सय दुई रुपियाँ, ताम्रपत्र र पदकसहित सम्मान गर्नु भएको हो ।

महानगरले पुम्दीकोटमा विशाल शिवमूर्ति बनाउने अभियानको नेतृत्व गर्ने चन्द्रकान्त बराल, चर्चित ब्यान्ड नेपथ्यका अमृत गुरुङ र उद्योगपति चन्द्रकृष्ण कर्माचार्यलाई सम्मान गरेको छ । यसैगरी, पोखरेली नवरत्नबाट सम्मानित हुनु हुनेहरूमा साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तिलकमान गुभाजु, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा, शिक्षासेवी प्राडा वीरेन्द्रसिंह गुरुङ, महिला उद्यमी रामकली खड्का तथा उद्योगी हरिप्रसाद पाण्डे सम्मानित हुनु भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले महानगरले कार्यविधि र मापदण्ड बनाएर समाजका विभिन्न क्षेत्रमा योगदान गर्नेहरूलाई सम्मान गरेको बताउनु भयो ।

अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’को संयोजकत्वमा विश्व सिग्देल, प्रा. नीता ताम्राकार, दीपेन्द्र श्रेष्ठ र महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रहेको प्रतिभा छनोट समितिको सिफारिस बमोजिम महानगरले नौ जनालाई नवरत्न सम्मान प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्