-सर्वज्ञ वाग्ले-
सफा, नीलो र स्निग्ध आकाशमा
हरदम मडारिन लालायित हुन्छ
सेतो बाघजस्तो एउटा सफेत बादल
मन्द-मन्द राज महकमा
ढलपल-ढलपल पल-पलमा
स्वाधीनताको पुजारीजस्तो
यत्रतत्र छरिएर
छिनमै गर्जनकासाथ
रुप बदल्दै
हुँकार दिंदै, बिजुलीको
झंकारमा पनि कञ्चन !
छौ तिमी
क्या पुलकित !
क्या तरंगित !
क्या पारंगत !
छिनको चमकमा
तुरुन्तै दर्काउँन पानी
वर्षाउँन चट्याङ
हिउँजस्तो सेतो, भुवाजस्तो कंचन,
हिमालजस्तो अटलतामा
फेरी क्षणभरमै घमण्डमा उत्रिने
छेपाराको चालमा रंग बदल्ने
कञ्चनबाट कालो-नीलो
अनि अन्धकारबाट निराकार
बहुलाउँदै उर्लेर
आकाशबाट तत्क्षण वर्षा भयंकर
एकाएक असिना
लौ ओइरियौ तिमी त बादल !
लाग्दछ- यो त तिम्रै पसिना हो
तिमी सेतोबाट कालो
अनि नीलो बादलको रूप धारण गरेर
क्षण-क्षणमा टुक्रनु अपसकुन भन्छन्
फगत तिम्रा घमण्डले
ईश्वरका सृष्टीमाथी कुदृष्टि लाग्यो
त्यसैले होला
यहाँ तिम्रो गर्जनमा
तिम्रो चम्काईमा
अनि तिम्रो कुदृष्टिमा
क्षणमै क्षतविक्षत पारिईन्छ
गरिबका झुपडीहरु
चराका गुँडहरु
तिनका कलिला बचेरा
अनि ति निरिहका
अन्न घर र संसार !
कठै, तिम्रो तेजोबधले
तोडिएका ती निरिहका
भताभुङ्ग जीवनचक्र नियाल्छु
तिमी त हुनुपर्ने
सिमलभुवाझैँ कोमल
तिम्रो रुप
तिम्रो चाल
अनि तिम्रो ढाल
एक सृष्टिको कंचन कुंज
हुनुपर्ने त्यस्तो सुन्दर l
तर,
तिम्रो रुपको घमण्डले
सर्वनाश गर्यो सारा ब्रह्माण्डको
गरिब, निमुखा अनि निसहायको
बास अनि जीवन
राजनीतिका राजाहरूको
घमण्डले जस्तो
पुलिस अनि प्रशासनले जस्तो
गाडीले छाप्रोमा ठोकेजस्तो
तहसनहस पार्यो l
हे निराकार बादल,
तिमी त सृष्टिको
सुन्दर फूल हौ
तिमी जगतको आवश्यकता हौ
तिमी प्राणी मात्रको सुन्दर संसार हौ
तिमीलाई छेपारोजस्तो
दिनमा तीनपटक रंग परिवर्तन गर्दै
सेतो, कालो, नीलो क्षणमै भयंकर
रूप धारण गर्न सुहाएन l
त्यसो त,
संसारका हरेक चिज परिवर्तनशील छन्
कालोबाट सेतो हुन्छ
सेतोबाट कालो पनि
सृष्टिका फूलहरू पनि त
रंगीचंगी छन् नि!
त्यसैले प्रिय बादल,
घमण्ड गर्दैनगर
तिम्रो आफ्नो स्वरुपको l
हे बहुरुपी बादल,
तिमी त चाँदनी हौ
चम्किदेऊ जगतभरि
सुन्दर र हराभरा सृष्टिका लागि
मलिलो मल बनेर आउनेगर
अन्नका लागि बल बनेर छाउनेगर
जुग-जुग तिमी
किसानको भकारी भरिदेऊ
सृष्टिको सुन्दर फूल भएर
सबैको भलाई गरिदेऊ
तिम्रो बहुरूप सर्वथा
मानव हितका लागि होस्
न कि विनाशका निम्ति l
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्