-सुदीपभद्र खनाल-
कविका मूर्तिमा हात छैन सन्देश के दिन
सत्ता विरूद्दमा लेखे सक्तछन् हात काटिन
नेताका मूर्तिमा गोडा राखिँदैन बुझौँ किन
सत्ता विरूद्दमा हिँड्दा सक्दछन् पग खोसिन
उड्छन् आकाशमा पञ्छी कुन सन्देश त्यो दिन
ज्ञान कर्म र इच्छाले सक्छ आकाश नापिन
सत्ताका जल्दछन् पुत्ला कुन तात्पर्यले भन
नवीन सृष्टिका निम्ति थोत्रो पर्दछ मासिन
फक्रन्छ फूलको शोभा जल वर्षा हुँदा तर
अतिवृष्टि भए बाढी पसेर बन्छ बञ्जर
सिञ्चने जल आफैँनै महाविनाश भो किन
अतिले खति सर्वत्र गर्छ सन्देश यो दिन
भाग्छ अन्ध त्यहाँबाट जहाँ प्रकाश भो किन
सत्यका अघि टिक्तैन झूट सन्देश यो दिन
घुम्दछन् ग्रह ब्रम्हाण्ड कुन सन्देश त्यो दिन
आआफ्नै गतिमा चल्छन् सर्वत्र सर्व जीवन ।
-अमेरिका ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्