२४ मंसिर २०८२, बुधबार

प्रतिनिधि सभा निर्वाचनका गगन थापा ३ जिल्लाबाट शिफारिस, बुधबार काठमाडौं ४ ले पनि गर्ने

कोलोराडोखबर संवाददाता , December 10th, 2025

नेपाल । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तीन जिल्लाबाट सिफारिस भएका छन् । उनी सर्लाही, धनकुटा र रोल्पाबाट सिफारिस भएका हुन् । थापाको आफ्नो क्षेत्र काठमाडौँ ४ को क्षेत्रीय समितिले भने बुधबार मात्रै सिफारिस गर्ने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला जिल्लाका निर्वाचन क्षेत्रमा आपसी सहमतिमा २५ गतेसम्ममा नाम सफारिस गर्न आग्रह गरेअनुसार अहिले धमाधम नाम सिफारिस भइरहेको हो ।

सो क्रममा महामन्त्री थापाको नाम अहिलेसम्म तीन जिल्लाबाट भएको हो । उनलाई सर्लाहीको क्षेत्र नम्बर ४ बाट सिफारिस गरिएको हो । थापासँगै सर्लाही ४ बाट वीरेन्द्रप्रसाद सिंहको नाम पनि सिफारिस भएको छ ।

धनकुटाबाट पनि उनी सिफारिसमा परेका छन् । जिल्ला कार्यसमिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ एक नम्बरमा राखेर सिफारिस गरेको हो । दोस्रोमा दिनेश राईको नाम रहेको छ । त्यस्तै हरिकुमार राई र मनोहर नारायण श्रेष्ठको नाम पनि प्रत्यक्ष उम्मेदवारतर्फ सिफारिस गरिएको छ ।

महामन्त्री थापाको नाम रोल्पाबाट पनि सिफारिस भएको छ । रोल्पाबाट महामन्त्री थापासँगै लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, डा मन्दिप सुवेदी र ज्ञानबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्