२० मंसिर २०८२, शनिबार

गीत: उनीहरू त उतै शहीद भएछन्

कोलोराडोखबर संवाददाता , December 6th, 2025

-आर. आर. चौलागाईं-
पढ्न गएको छोरो फर्केर आएन
पढ्न गएकी छोरी फर्केर आइन
उनीहरू त जुलूसमा गएछन्
गोली लागेर उतै ढलेछन् ।

सामाजिक सञ्जाल बन्द नगर खोल भनेछन्
देशमा भ्रष्टाचार छ नियन्त्रण गर भनेछन्
सरकार रिसाएछ ताकीताकी हानेछ
उनीहरू त उतै शहीद भएछन्
गोली लागेर उतै ढलेछन् ।

हामीले विश्वास गरेकाहरू विश्वासघाती भएछन्
हामीले भोट हालेकाहरू जनविरोधी भएछन्
जताततै आगो लाग्यो देशै खरानी भयो
हाम्रा छोराछोरीहरू उतै मरेछन्
गोली लागेर उतै ढलेछन् ।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्