१९ मंसिर २०८२, शुक्रबार

सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश, शुक्रबार लुम्बिनी र जनकपुर खेल्दै

कोलोराडोखबर संवाददाता , December 5th, 2025

नेपाल । नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ ।

टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । छ खेलमा अपराजित सुदूरपश्चिम १२ अंकसहित क्विालिफायर प्रवेश गरेको हो ।

चितवनको भने प्लेअफको सम्भावना कठिन बनेको छ । ६ खेल खेल्दा चितवनले चार अंक मात्र जोडेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ७५ रनमा रिटायर्ड हर्ट हुनुभयो । उहाँले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ प्लेयर अफ द म्याच बन्नुभयो ।

यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाउनुभयो । आरिफ शेखले र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित समान २४–२४ रन बनाउनुभयो ।

बलिङमा चितवनका सैफ जइबले दुई विकेट लिनुभयो । रन्जित कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिनुभयो ।

१७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ बलमा १२० रन बनाउँदै अलआउट भएको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउनुभयो । देव खनालले २८ रन जोड्दा अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन थप्नुभयो । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि पुनित मेहराले तीन विकेट लिनुभयो भने कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, इशान पाण्डे र अविनास बोहोराले एकएक विकेट हात पर्नुभयो ।

यता, एनपिएल अन्तर्गत शुक्रबार अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ।

प्रतिक्रिया दिनुहोस्