४ मंसिर २०८२, बिहीबार

निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकासः प्रधानमन्त्री 

कोलोराडोखबर संवाददाता , November 20th, 2025
नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक निकास भएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दललाई समयमै र जिम्मेवारीपूर्वक निर्वाचन प्रक्रियामा सहभागिताका लागि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार युवापुस्ताको जायज आक्रोश र दशकौँदेखिको राजनीतिक बेथितिविरुद्धको आन्दोलनको जगमा भएको अवगत गराउँदै भन्नुभयो, “युवाले एउटा स्पष्ट सन्देश दिए, “अब पुग्यो, भ्रष्टाचार, कुशासन र पहुँचको राजनीति अब चल्दैन ।”
यसै ऐतिहासिक जनादेशमा रहेर तत्कालीन आवश्यकतालाई सम्बोधन गरी राजनीतिक निकास दिनका लागि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गर्नुभएको उहाँले बताउनुभयो । “यो घोषणा राष्ट्रलाई संवैधानिक सङ्कटबाट बचाउने र लोकतन्त्रको ‘लिक’मा अड्याउने एकमात्र अनिवार्य कदम थियो”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री कार्कीले देश निर्णायक मोडमा उभिएको र यो भेला केबल औपचारिकताका लागि नभई लोकतन्त्रको भविष्य सुनिश्चित गर्न उच्च राजनीतिक सङ्कल्प प्रदर्शन गर्ने साझा मञ्च र अवसर भएको धारणा व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको भविष्य सुनिश्चित गर्ने कि यसलाई थप अनिश्चयको खाडलमा धकेल्ने भन्ने प्रश्नको जवाफ आज यहाँ सबैले दिनुपर्ने भएको छ भन्नुभयो ।
आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु सरकारको संवैधानिक दायित्व र जनताप्रतिको अटल राजनीतिक प्रतिबद्धता भएको बताउँदै उहाँले संवैधानिक अडानमा कुनै अलमल नभएको स्पष्ट पार्नुभयो । “निर्वाचनको अनिवार्यताका बारेमा पनि हाम्रो प्रतिबद्धता दह्रिलो र स्पष्ट छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्