१४ कार्तिक २०८२, शुक्रबार

मलेसिया सरकारले तोकेका श्रम सम्बन्धी नयाँ मापदण्डबारे प्रधानमन्त्रीको चासो

कोलोराडोखबर संवाददाता , October 31st, 2025

नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका लागि तोकेका नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहल गर्न श्रम सचिवलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव कृष्णहरि पुष्करलाई बोलाएर उक्त विषयको समाधानका लागि पहल गर्न निर्देशन दिनुभएको हो ।

मलेसिया सरकारले कात्तिक १० गते (२७ अक्टोबर) मलेसियामा रहेको दूतावासलाई पत्रमार्फत मलेसिया सरकारले तोकेका नयाँ मापदण्ड कार्यान्वयन गर्ने म्यानपावरबाट श्रमिक पठाउन जानकारी गराएको थियो ।

नेपालको कानुन अनुसार सञ्चालित म्यानपावर कम्पनीलाई मलेसिया सरकारले केही सीमित व्यवसायीको प्रलोभनमा परेर सिन्डिकेट गरेको भन्दै व्यवसायी र सरोकारवालाबाट गुनासो आएपछि प्रधानमन्त्री कार्कीले चासो व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रूपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्री कार्कीले यस विषयमा परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्नसमेत निर्देशन दिनुभयो ।

मलेसिया नेपालीको प्रमुख श्रम गन्तव्य देशमा पर्छ । दुई वर्षयता भने मलेसियाले नयाँ श्रमिक लिन छोडेको थियो । यस वर्ष चाहिँ मलेसियाले दुई लाख आप्रवासी श्रमिक मागेको छ ।

मलेसियामा नेपाल, बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का, म्यान्मारलगायत देशबाट श्रमिक लैजाने गरे पनि सबैभन्दा धेरै नेपाल र बङ्गलादेशका श्रमिक जाने गरेका छन् । हाल मलेसियामा कार्यरत आप्रवासी श्रमिकमध्ये सबैभन्दा धेरै बङ्गलादेशका पाँच लाख र साढे चार लाख नेपालका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्