-सर्वज्ञ वाग्ले-
दुर्योधनको हठमा
रगतको खोला बग्यो,
शकुनिको धुर्त्याइॅमा
सभ्यताको विनाश भयो,
धृतराष्ट्रको कप्ट्यइॅमा
राज्य हराइयो ।
नेपाल !
तिमी पनि त्यही बाटोमा त होइनौ ?
सिक्किम झैं विलय,
भुटानमा झैं मौन शान्ति,
इथोपिया झैं भोकमरी
के यो नै हो त तिम्रो भविष्य ?
आन्दोलनले खोलेको ढोका
हुन सकोस् सावधानी
उदाओस् सुनौलो बिहानी
नभए सपनाको चिहान बन्न के बेर !
भवनहरू छन् जलेका
भएका छन् प्रमाणहरू खरानी ,
भए कर्णधारहरू शहीद
रक्त आहालमा होली खेल्दै,
चल्दै छ घुसपैठ
चल्मलाउॅदै छन् अराष्ट्रिय तत्वहरू
देश हराऊने जुगाडमा
यो खुशी हो कि उन्माद ?
बिन्ती नेपाल !
इतिहास फेरि नदोहोरियोस्,
सत्ता खाने मुसाहरू
फेरि दुला भित्र नपसुन्,
कहिल्यै नबुनियोस् भ्रष्ट्राचारको माकुरीजालो
चिहानघारी नबनोस् देश ।
-अमेरिका
प्रतिक्रिया दिनुहोस्