काठमाडौँ । काव्यकार डा नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ । शिखा बुक्सद्वारा शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, सांसदहरू विद्या भट्टराई, सुदन किराती र मनिष झा, साहित्यिक पत्रकार राजकुमार बानियाँलगायत महाकाव्य ‘कल्प’ लोकार्पण गर्नुभएको हो ।
महामन्त्री थापाले महाकाव्यमा लम्सालको प्रतिस्पर्धा आफैँसँग रहेको बताउँदै इतिहास, धर्म, संस्कृति, मानवतालगायत बहुआयामिकता विषय महाकाव्यमा समेटिएका उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय कार्यालयमा स्थापना भएको पुस्तकालय विभागले कल्प महाकाव्यका बारेमा बहस र अन्तरक्रिया गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
सांसद भट्टराईले मानिस, प्रकृति र संस्कृतिबीचको सम्बन्ध कल्प महाकाव्यमा रहेको बताउनुभयो । वेदका छ वटा अङ्गमध्ये कल्प पनि एउटा भएको बताउँदै उहाँले अहिलेका विद्यार्थीलाई किताबको भारी बोकाए पनि यथार्थ ज्ञान दिन नसकिएको अवस्था पुस्तकले चित्रण गरेको धारणा राख्नुभयो । मौलिकता हराएर सामाजिक आदर्शमा विचलन आएकाले सुधारका लागि कल्पले प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सांसद किरातीले संविधान संशोधनका लागि सरकार गठन भएको र केही चर्चा पनि चलिरहेका बेला संविधानभन्दा पहिले सोचमा संशोधन गरिनुपर्ने बताउनुभयो । चेपाङ, वनकरिया र राउटेको संस्कृतिका बारेमा महाकाव्य लेख्न उहाँले महाकाव्यकार लम्सालसँग आग्रह गर्नुभयो ।
सांसद झाले अज्ञानले संस्कृति र लोभले प्रकृति मासिएकाले यसबाट शिक्षा दिनेगरी महाकाव्य कल्प सार्वजनिक भएको बताउनुभयो । अभिव्यक्ति स्वतन्त्रताको चर्चा गरिरहँदा सोच्ने स्वतन्त्रता छ कि छैनरु भन्ने बहस गर्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो ।
साहित्यिक समीक्षा गर्दै पत्रकार बानियाँले देश, धर्म र संस्कृतिको गहिरो जानकारी दिने महाकाव्य कल्प नवीन सोचसहित आएको बताउनुभयो । साहित्य र राजनीतिमा वैश्विक चेतना आवश्यक छ भन्ने सन्देश महाकाव्यले दिएको उहाँको भनाइ छ ।
महाकाव्यकार लम्सालले चौथो महाकाव्यका लोकार्पण गर्ने अवसरमा आफूमा ब्रह्मानन्द अनुभूति भएको बताउनुभयो । महाकाव्यमा तीन खण्ड र ११ सर्ग रहेका लोकार्पण समारोहमा गराइएको जानकारी थियो । यसअघि डा लम्सालका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशन भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्