११ श्रावण २०८२, आईतवार

कोलोराडोमा दिदीबहिनी समूहको आयोजनामा अगष्ट १० मा दरखाने कार्यक्रम हुँदै

कोलोराडोखबर संवाददाता , July 27th, 2025

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी नेपालीभाषी दिदीबहिनीहरु एकै ठाउमा भेला भई नाचगान गर्दै सामुहिक रुपमा दरखाने भएका छन् ।

प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई आफु एक्लो भएको महशुस नहोस र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै दरखादा माईतीको झल्को मेटाउन सकियोस भन्ने उद्धेश्यले यसबर्ष पनि दरखाने कार्यक्रम आयोजना गर्न लागिएको सिष्टर्स ग्रुप दिदी बहिनी समुह कोलोराडोका अध्यक्ष धन पौडेलले बताएकी छन् ।

यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा जन्मे हुर्केका बाल बालिका र यहाका स्थानियहरुलाई नेपाली भाषा संस्कृतीको पहिचान गराउन सहयोग पुग्ने उनको ठम्याइ रहेको छ ।

कार्यक्रम यही अगष्ट १० तारिक आइतबार सांझ ५ बजे देखी ( West View Recreation Centre 10747 W 108th. Ave, Westminster Co. 80021) संचालन हुने छ । कार्यक्रम बारे फेसबुकमा ईभेन्ट बनाएर राखिएको र यदी कसैले संस्थाको फेसबुक फलो गर्न सक्नु भएको छैन भने यसै सुचनालाई आधार मानी कार्यक्रममा सहभागी भइ भब्य र सभ्य तरिकाबाट सम्पन्न पार्न सहयोगको लागी अध्यक्ष पौडेले सबैलाई हार्दिक अनुरोध गरेकी छन् ।

कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधी, बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपालीको भाषा संस्कृती मनपराउने सबै दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा स्वागत गरिने पौडेले बताएकी छन् । दरखाने कार्यक्रममात्र भएको र अन्य कुनै औपचारीक कार्यक्रम नभएकोले कसैलाई औपचारीक रुपमा परिपत्र नगरिएको उनले प्रष्ट्याएकी छन् । उनले सबैलाई चुलै निम्तो सहित खुल्ला निमन्त्रणा गरिएकोले यसै निमन्त्रणालाई स्विकारी कार्यक्रममा सहभागी भई हर्सोल्लासका साथ मनाउने बातावरण सृजना गरिदिनुहुन बिभिन्न सामाजिक संञ्जालहरुबाट अनुरोध गरेकी हुन् ।

यसैगरी बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि दरखाने कार्यक्रमलाइ सफलताकासाथ सम्पन्न पार्न केही सहयोग आवश्यक पर्ने देखिएकोले संघ संस्था तथा मनकारी दाजुभाइ दिदी बहिनीहरुबाट सहयोगको अपेक्षा गरिएको र सहयोग गर्न चाहनु हुनेहरुले संस्थाको इमेल [email protected] बाट सोझै Zelle गर्न सकिने अध्यक्ष पौडेलले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्