२७ बैशाख २०८२, शनिबार

लघुकथा: मानव सेवा आश्रम

कोलोराडोखबर संवाददाता , May 10th, 2025

-आरसी रिजाल-
म र श्रीराम प्राय बिहान बिहान घुम्न निस्कन्छौँ।एउटा रुखमुनि बुढी आइमाई २/३ दिनदेखी प्लास्टिकको बोराको सिरानी हालेर सुतेको देखेर उनको छेउ पुगेर– तपाईंको घर कहाँ हो बुढी आम्यौ भन्यौ ।

उनले– घरबार केही छैन बाबू हो।बुढा बिते। एउटा छोरा थियो लाहुर जान्छु भनेर हिँड्यो। छोरी पोइला गै अत्तोपत्तो छैन्।मागेर गुजारा टार्थें। बिसन्चो भएर तीन दिनदेखि भोकै यहि रुखको फेदमा लडिरहेको छु भनिन् ।

त्यसदिन हामिले एक पाकेट पाउरोटी र एक बोतल पानी ल्याएर दियौँ ।उनले आफुसंग भएको खाली बोतल हामीतिर बढाउदै पाउरोटी किनेर ल्याइदिनुभएको छ। धाराको पानी भरेर ल्याइदिनुस् किन पानीमा खर्छ गर्नुहुन्छ बाबुहो भनिन्।

अर्को दिन उनलाई टेम्पो चढाएर एउटा आश्रयमा पुर्‍यायौँ । आश्रयका संचालकले उहाँलाई केही प्रश्न गरे।त्यसपछी हामितिर हेर्दै — हाम्रोमा केही जटिलता र ठ्याक्कै स्थानको अभाव पनि छ। बरु यिनलाई अन्तै आश्रममा लैजाउनुस् भने।

त्यसपछि उनलाई अर्को आश्रयमा पुर्‍यायौँ। जहाँ असक्तता र सामाजिक विभेद गरिदो रहेनछ। ल आमा अब ढुक्कसँग बस्नुस् भन्यौ। दुई हप्तापछी फेरि उहाँलाई भेट्न गयौँ। आम्वै त सफासुग्गर भै कोरिबाटी गरि चिटीक्क परेकी रहिछन् । केहिबेरको भलाकुसारीपछि हामिले बिदा माग्यौँ। चाउरी परेको गाला मुस्कुराए। हामी पनि ” जय मानव सेवा आश्रम ” भन्दै हलुको मन लिएर फर्क्यौं।

-हेटौंडा, मकवानपुर ।

प्रतिक्रिया दिनुहोस्