नेपाल । मंगलबार नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पदभार सम्हालेको छ ।
यसैबीच नव निर्वाचित केन्द्रीय अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक सङ्कट बेहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसैगरी समाचारका विषयलाई लिएर पत्रकार गोपाल दाहालमाथि ज्यान लिनेसम्मको धम्की आइरहेका सन्दर्भमा स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्नेगरी महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन गठन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
मिडिया मिसनमा केन्द्रीय सदस्य शङ्कर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समितिका अध्यक्ष भरतबहादुर खड्का र सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेका छन् ।
महासंघको इतिहासमा २७औँ महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त समूहका तर्फबाट अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित हुनुभएको हो । २७ औँ महाधिवेशन गराउने कार्यसमितिको कार्यवाहक अध्यक्ष पनि संयोगले महिला नै भएको इतिहास पनि स्थापित भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्